डिजेल र मट्टीतेलको मूल्य दुई रुपैयाँले घट्यो

डिजेल र मट्टीतेलको मूल्य दुई रुपैयाँले घट्यो


काठमाडौं– नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ। बुधबार (आज) बिहान एक बजेबाट लागू हुने गरी नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य लिटरमा दुई/ दुई रूपैयाँ घटाएको हो।

भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार मूल्य समायोजन गर्दे निगमले मूल्य घटाएको हो। निगमले पेट्रोल र खाना पकाउने ग्यासको भाउ यथावत राखेको छ। नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ। निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्गमा विभाजन गरेको छ।

पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन्। यो क्षेत्रमा अब डिजेल र मट्टीतेल लिटरको १५६ रूपैयाँ ५० पैसा पर्नेछ। त्यस्तै, दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्र पर्छन्। यो क्षेत्रमा लिटरको १५८ रूपैयाँ पर्नेछ। तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्र पर्छन्। यो क्षेत्रमा डिजेल र मट्टीतेल लिटरको १५९ रूपैयाँ पर्नेछ।