नबिल बैंकको वीरगन्ज शाखाबाट एक करोड भन्दा बढी रकम चोरी

नबिल बैंकको वीरगन्ज शाखाबाट एक करोड भन्दा बढी रकम चोरी


काठमाडौं– सोमबार बिहानीपख ४ बजेतिर पर्साको वीरगञ्जस्थित नबिल बैंकबाट १ करोड ३४ हजार ८ सय रुपैयाँ चोरी भएको छ ।

चोरी गरेर बोरामा रकम हालेर लगेको सीसीटीभी फुटेजमा देखिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । ५/६ जनाको समूहमा आएका व्यक्तिहरुले रकम चोरी गरेर फरार भएका थिए । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

चोरी भएको समयमा बैंकमा सुरक्षा गार्डसमेत नभएको कारण घटना थप शंकास्पद भन्दै प्रहरीले अनुसन्धान अघि बढाएको छ । ताला फोडेर रकम चोरी गरेको र पछि अर्कै ताला लगाएर भागेको देखिएको छ । नबिल बैंकका एक कर्मचारीले पनि चोरी भएको पृष्टि गरे । उनले थप विषयमा भने आफु जानकार नरहेको बताए ।

चोरी भएको शाखामा टासिएको एक सुचना भनिएको छ, ‘यस शाखामा विशेष कारणवश कारोबार हुन नसकेकोले नजिकैको वीरगञ्ज शाखा र पावर हाउस शाखाबाट कारोबार गरिदिनुहुन अनुरोध गर्दछौ । यसबाट ग्राहक वर्गमा पर्न गएको असुविधा प्रति क्षमा प्रार्थी छौँ’।