पर्यटकको पर्खाइमा रहेको गिडिदहको क्षेत्रफल नापजाँच प्रतिवेदन सार्वजनिक

पर्यटकको पर्खाइमा रहेको गिडिदहको क्षेत्रफल नापजाँच प्रतिवेदन सार्वजनिक


जुम्ला –जुम्लाको तातोपानी गाउँपालिका–४ मा रहेको जिल्लाको प्रसिद्ध आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्रका रुपमा रहेको गिडिदहको वास्तविक क्षेत्रफल नापजाँच प्रतिवेदन बिहीबार एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको छ ।

काठमाडौं विश्व विद्यालयले तयार पारेको गिडिदहको नापजाँच अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै विश्वविद्यालयका उपप्रध्यापक रामदेवी तचामो शाहले भन्न, ‘गिडिदहको कूल लम्बाइ एक हजार पाँच सय १० मिटर, चौडाई तीन सय १० मिटर, उचाइ तीन हजार चार सय ८५ र गहिराई ४२ दशमलव तीन मिटर रहेको छ । दुई खण्डबीचको बहाबको भाग दुई सय मिटर लम्बाई रहेको विश्वविद्यालयका उपप्रध्यापक शाहले जानकारी दिए ।

‘कूल रु १५ लाख बजेटमा काठमाडौँ विश्वविद्यालयले नापजाँच प्रतिवेदन तयार गरेको तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायतले बताए । कर्णाली प्रदेश क्षेत्रकै पर्यटकीयस्थलको विकास र गिडिदहको प्रवद्र्ध्न र संरक्षणमा पालिकाको महत्वपूर्ण भूमिका रहने नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा पूर्व राज्यमन्त्री गोमा गौतम कुँवरले बताए । जुम्लाका पर्यटकीय क्षेत्रको प्रवद्र्ध्न र संरक्षणका लागि पालिका सधैँका लागि पर्ने तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौँलागाईंले जानकारी दिए ।

गिडिदहमा पर्यटक भित्र्याउनका लागि सडकलगायत अन्य पूर्वाधारको निर्माण गरेको खण्डमा सहजरूपमा आन्तरिक तथा बाह्य पर्यटकलाई जान सहज हुने भएकोले यस विषयमा पालिकाले आउने वर्षको नीति तथा कार्यक्रम र बजेटमा विशेष प्रथामिकता दिएर काम गर्नु आवश्यक रहेको जिसस प्रमुख गौरीनन्द आचार्यको भनाइ छ। सो कार्यक्रममा जिल्लास्थित सरोकारवालालगायत पालिका जनप्रतिनिधि र कर्मचारीको सहभागिता रहेको थियो ।