गुडविल फाइनान्सले कमायो ६ करोड नाफा

गुडविल फाइनान्सले कमायो ६ करोड नाफा


काठमाडौं । गुडविल फाइनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ६ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको यसै अवधिमा ३ करोड २२ लाख नाफा कमाएको फाइनान्सले ८६.४४ प्रतिशतले बढाएको हो।

अन्य सञ्चालन आम्दानी वापत ६ करोड १८ लाख कमाएको फाइनान्सले कर्जा र अन्य नोक्सानी वापत व्यवस्था गर्नुपर्ने इम्पेरिमेन्ट चार्ज ३ करोड ६८ लाखबाट ३४ लाखमा घटाएका कारण मुनाफामा उच्च सुधार देखिएको हो।

चुक्ता पूँजी ८० करोड रहेको यस फाइनान्सको वार्षिक प्रतिशेयर आम्दानी ६ रुपैयाँ ९ पैसाबाट बढेर १५ रुपैयाँ ८१ पैसा पुगेको छ। जगेडा कोषमा ३५ करोड १२ लाख रुपैयाँ सञ्चित गर्दा प्रतिशेयर नेटवर्थ १६२ रुपैयाँ ३९ पैसा कायम भएको छ। फाइनान्सको शेयरधनी कोषमा १४ करोड ५४ लाख र शेयर प्रिमियम रकम २४ लाख ७५ हजार रुपैयाँ छ।

पुस मसान्तसम्ममा फाएनान्सले ७ अर्ब ९२ करोड निक्षेप संकलन गरि ६ अर्ब २ करोड कर्जा प्रवाह गरेको छ । यसबाट फाइनान्सले ११ करोड ५४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। समीक्षा अवधिमा खुद ब्याज आम्दानी २४ लाख घटेको हो। चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा फाइनान्सले ८ करोड ५४ लाख रुपैयाँ सञ्चालन मुनाफा कमाएको छ।

त्यसैगरी, फाइनान्सको खराब कर्जा अनुपात बढेर १.२५ प्रतिशत पुग्दा पूँजीकोष अनुपात १७.७२ प्रतिशत, र मूल्य आम्दानी अनुपात २१.६६ गुणा छ।