मालपोत कार्यालय र राष्ट्रिय सहकारी बैंकको मिलेमतोमा राजस्व छली

मालपोत कार्यालय र राष्ट्रिय सहकारी बैंकको मिलेमतोमा राजस्व छली

राष्ट्रिय सहकारी बैंकको घोटला प्रकरण १


काठमाडौं– मालपोत कार्यालय घोराही दाङ र राष्ट्रिय सहकारी बैंकको मिलेमतोमा राजस्व छली गरेको खुलासा भएको छ। बैंकले आफ्नो एक सदस्य सहकारी नव राजधानी सहकारी संस्थाले धितोमा राखेको सम्पत्ति लिलाम गरेर बिक्रीमा राख्यो तर सहकारी बैंकले बिक्रीमा राखेको सो धितो बिक्री भएन। बैंकले नव राजधानी सहकारी संस्थाले धितोमा राखेको सम्पत्ति आफ्नो नाममा सकारेर बिक्री गर्ने क्रममा राजस्व छली गरेको खुलेको हो।

कसैले धितो सकार नगरे पश्चात बैंकले मिति २०७२/०२/१३ निर्णय लिई आफैले सकार गरी सम्बन्धित मालपोत कार्यालयबाट दा.खा समेत गरी उक्त गैर-बैकिङ्ग सम्पत्ति मध्य दाङ जिल्लाको २०७२/०९/०२ बिक्री गर्ने क्रममा राजिनामा लिखत र.न.ख/२७३९ मा उल्लेख गरिएको सरकारी मूल्य अनुसार करिब २१ लाख ७९ हजार रकम बराबरको हुन आउने मालपोत राजस्व कर छली गरेको पाइएको हो।

बैंकले नव राजधानी सहकारी संस्थाले धितोमा राखेको सम्पत्ति सहकारीसँग ६५ लाखमा दाखिला गर्ने निर्णय गरेतापनि बैंकले गैर बैकिङ्ग सम्पत्तिमा मिलान गर्दा स्वीकार मूल्यभन्दा कममा दा.खा गरेको खुलेको छ । सहकारी बैंकले दाङ मालपोत कार्यालयबाट रु. ६२ लाख ९४ हजार ७९ रुपैयाँमा मात्रै दाखिला गरेको पाइएको छ । बैंकले ६२ लाखमा दा.खा गरेपछि बाँकी रहेको रु. २ लाख ५ हजार ९२० रुपैयाँ सहकारीलाई फिर्ता नगरेको सहकारीले जनाएको छ । बैंकले यो २ लाख पनि हिनामिना गरेको छ ।

राष्ट्रिय सहकारी बैंकले गैर बैंकिङ्ग सम्पत्ति बिक्री गर्दा सकार गरेको मूल्यभन्दा बढी रकममा बिक्री गर्दा हुन आउने नाफाको रकमलाई पनि नाफा खातामा नजनाई गैर-बैकिङ्ग हिसाब मिलाई बैंकको नाफालाई मात्र हानी गरेको छैन । यसबाट राज्यलाई बुझाउनु पर्ने जग्गा बिक्रीको पुँजीगत लाभ र बैंकको नाफा (आयकर) पनि छली गरी सरकारलाई हानी नोक्सानी गरेको देखिन्छ । सहकारीले शेयरधनीहरुलाई दिनुपर्ने वार्षिक प्रतिफल पनि दिएको छैन ।

बैंकले राजस्व छली गर्दै सरकारलाई नोक्सानी त पारेकै छ। साथै आफ्ना सदस्यलाई अनेकौ दुःख दिने, राफसाफ भैसकेको कर्जा बाँकी छ भने बढी कर्जा, ब्याज र जरिवाना असुल गर्ने गलत नियत समेत राखि वित्तीय अपराधजन्य कार्य गरेको देखिन्छ ।