राष्ट्रियस्तरका ८ विकास बैंक : चालु आर्थिक वर्षको नौ महिनामा कुनले कति कमाए ?

राष्ट्रियस्तरका ८ विकास बैंक : चालु आर्थिक वर्षको नौ महिनामा कुनले कति कमाए ?


काठमाडौं–  विकास बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन्। सार्वजनिक वित्तीय विवरणमा विकास बैंकहरुको नाफामा सामान्य गिरावट आएको देखिएको छ। 

आज (शुक्रबार) सार्वजनिक वित्तीय विवरणअनुसार राष्ट्रियस्तरका आठ विकास बैंकले चालु आर्थिक वर्षको ९ महिनामा रु. ३ अर्ब ५३ करोड ८८ लाख रुपैयाँ नाफा कमाएका छन्। 

गत आ.व को सोही अवधिमा यी विकास बैंकहरुले रू. ३ अर्ब ६१ करोड ३२ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए। दुई वटा आर्थिक वर्षको तथ्यांक हेर्दा अघिल्लो वर्षको तुलनामा यस वर्षको समीक्षा अवधिमा यी बैंकहरुको नाफामा २.०६ प्रतिशतको संकुचन आएको छ।

अघिल्लो वर्षको तुलनामा यस वर्षको समीक्षा अवधिमा चार वटा विकास बैंक नाफामा गएका छन् । ती बैंकहरुमा मुक्तिनाथ विकास बैंक, गरिमा बिकास बैंक, कामना सेवा विकास बैंक, सांग्रिला विकास बैंक रहेका छन् । यी बैंकहरुले अघिल्लो वर्षको तुलनामा क्रमश: ८.१३ प्रतिशत, ४.८५ प्रतिशत, ८.४ प्रतिशत, ९.४४ प्रतिशत बढी नाफा कमाएका हुन् । 

यस्तै, समिक्षा अवधिमा घाटामा जाने विकास बैंकहरुकाे सूचीमा लुम्बिनी विकास बैंक, ज्योति विकास बैंक, शाइन रेसुंगा विकास बैंक र महालक्ष्मी विकास बैंक रहेका छन् । गत वर्षको तुलनामा यी बैंकहरुले क्रमशः २६.९१ प्रतिशत, २४.३९ प्रतिशत, ७.१६ प्रतिशत, १.४२ प्रतिशत घाटा ब्योहोरेका छन् । 

यस वर्ष सबैभन्दा बढी कमाउने विकास बैंकमा मुक्तिनाथ विकास बैंक रहेको छ। जसले समिक्षा अवधिमा  रु. ८८ करोड १८ लाख ३४ हजार रुपैयाँ कमाएको छ ।

त्यसैगरी गरिमा विकास बैंकले रू. ६८ करोड ३४ लाख ६२ हजार रुपैयाँ कमाएको छ। समिक्षा अवधिमा नाफा कमाउने बैंकमा कामना सेवा बैंक पनि रहेको छ । समिक्षा अवधिमा बैंकले रु. ३३ करोड १३ लाख ६३ हजार रुपैयाँ कमाएको छ ।

यस्तै, नाफा कमाउने विकास बैंकको सूचीमा सांग्रिला विकास बैंकपनि समेटिएको छ। बैंकले समिक्षा अवधिमा रु.२६ करोड ९३ लाख ८९ हजार कमाएको छ । 

समिक्षाा अवधिसम्ममा लुम्बिनी विकास , ज्याेति विकास, शाइन रेसुंगा र महालक्ष्मी विकास बैंकले क्रमशः रू.३४ कराेड २१ लाख ६८ हजार, रू. १५ कराेड २४ लाख ३३ हजार , रू.५१ कराेड ४६ लाख ५९ हजार र रू. ३७ कराेड ३५ लाख रूपैयाँ कमाएका छन् ।