८.४० प्रतिशत बढ्यो कामना सेवाको नाफा

८.४० प्रतिशत बढ्यो कामना सेवाको नाफा


काठमाडौं– कामना सेवा विकास बैंकको नाफा ८.४० प्रतिशत बढेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको खुद नाफा ८.४० प्रतिशत बढेर रु. ३३ करोड १३ लाख रुपैयाँ पुगेको छ । गत वर्षको तेस्रो त्रैमाससम्ममा बैंकको खुद नाफा रु. ३० करोड ५६ लाख रुपैयाँ थियो । नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी ५० पैसा बढेर रु. १३ रुपैयाँ ४७ पैसा पुगेको छ।

यसै अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा रु. २८ करोड ७३ लाख रुपैयाँ र वितरणयोग्य प्रतिशेयर आम्दानी रु. ११ रुपैयाँ ६८ पैसा रहेको छ। समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ। चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले रु. १ अर्ब ४५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.६८ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिमा बैंकको यस्तो आम्दानी रु. १ अर्ब ५२ करोड रुपैयाँ थियो ।

चालु आर्थिक वर्षको नौ महिनामा बैंकको मूल्य आम्दानी अनुपात २६.५१ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५५ रुपैयाँ ३४ पैसा रहेको छ। समीक्षा अवधिमा बैंकको खुद फि तथा कमिशन आम्दानी २०.५८ प्रतिशतले बढेको छ भने कुल सञ्चालन आम्दानी २.६६ प्रतिशत र सञ्चालन मुनाफा २.९२ प्रतिशतले बढेको छ ।