बैंकहरुको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण : कुन बैंक नाफामा, कुन घाटामा ?

बैंकहरुको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण : कुन बैंक नाफामा, कुन घाटामा ?


काठमाडौं– बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन्।विवरणअनुसार वाणिज्य बैंकहरुको नाफामा १३ प्रतिशतको गिरावट देखिएको छ। गत वर्षको तेस्रो त्रैमासम्ममा वाणिज्य बैंकहरुले रु. ४७ अर्ब १ करोड ५३ लाख रुपैयाँ नाफा आर्जन गरेकोमा यस वर्ष १३.४७ प्रतिशतले घटेर नाफा रु. ४० अर्ब ६८ करोड ३० लाख ८१ हजार रुपैयाँमा सीमित भएको छ।

योसँगै चालु आर्थिक वर्षको नौ महिनामा १३ वाणिज्य बैंकको खुद नाफा घटेको छ भने ७ बैंकको बढेको छ । यस अवधिमा सबैभन्दा बढी नाफा कृषि विकास बैंकले गरेको छ। यो बैंककाे नाफा तेस्रो त्रैमाससम्म ९७.२२ प्रतिशतले बढेर रु. २ अर्ब ५ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस बैंकको नाफा रु. १ अर्ब ४ करोड १० लाख ३७ हजार रुपैयाँ थियो ।

समिक्षा अवधिमा अर्को धेरै नाफा आर्जन गर्ने बैंकको सूचीमा लक्ष्मी सनराइज बैंक परेको छ। यो बैंकको नाफा ९ महिनामा २७.७० प्रतिशतले बढेर रु. १ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ। अघिल्लाे वर्षको सोही अवधिमा बैंकको नाफा रु . १ अर्ब २६ करोड ५३ लाख ४५ हजार रुपैयाँ थियो।

यस्तै, चालु आर्थिक वर्षको नौ महिनामा प्राइम बैंकको नाफा १६.६६ प्रतिशतले बढेर २ अर्ब ८७ करोड ८७ लाख ४६ हजार पुगेको छ । गत वर्ष सोही अवधिमा बैंकले रु. २ अर्ब ४६ करोड ७५ लाख ५६ हजार रुपैयाँ नाफा कमाएको थियो।

नाफा कमाउने अर्को बैंकको सूचीमा सिद्धार्थ बैंक छ । यो बैंकको नाफा गत वर्षको तुलनामा ३.०२ प्रतिशतले बढेर १ चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ । गत वर्ष बैंकको नाफा रु. १ अर्ब ५९ करोड १ लाख १ हजार रुपैयाँ थियो ।

हिमालयन बैंक पनि नाफामै गएको छ। यो बैंकको नाफा समिक्षा अवधिमा १२.०४ प्रतिशतले बढेर रु. १ अर्ब ९४ करोड ८१ लाख ८१ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा बैंकले रु. १ अर्ब ७३ करोड ८८ लाख६२ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो।

साथै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा तेस्रो त्रैमाससम्म ७.५२ प्रतिशतले बढेर रु. ३ अर्ब २७ करोड ५२ लाख ७७ हजार रुपैयाँ छ भने एभरेष्ट बैंकको नाफा पनि ५.७७ प्रतिशतले बढेर रु. २ अर्ब ६० अकरोड ८४ लाख ६४ हजार रुपैयाँ पुगेको छ । यी दुई बैंकले गत वर्षको सोही अवधिमा क्रमशः रु. ३ अर्ब ४६ करोड १२ लाख ३ हजार र रु.२ अर्ब ४६ करोड ६० लाख ६४ हजार रुपैयाँ नाफा आर्जन गरेका थिए।

यसैगरी समिक्षा अवधिको नौ महिनामा सबैभन्दा बढी घाटामा नेपाल बैंक लिमिटेड गएको छ। यो बैंकको नाफा गत वर्षको तुलनामा ९२.६८ प्रतिशतले घटेर रु. १३ करोड ५ लाख ९ हजार रुपैयाँमा खुम्चिएको छ । गत वर्षको सोही अवधिमा नेपाल बैंकले रु. १ अर्ब ७८ करोड २३ लाख ३९ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो।

यस्तै, नाफा ऋणात्मक देखिने बैंकको सूचीमा एनआईसी एशिया पनि परेको छ । यो बैंकको नाफा ५२. ३१ प्रतिशतले घटेर रु. १ अर्ब ५१ करोड ४८ लाख ९१ हजारमा सीमित भएको छ। गत वर्षको सोही अवधिमा यो बैंकले रु. ४ अर्ब १४ करोड ९ लाख २४ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो।

गत वर्षको तुलनामा माछापुच्छ्रे बैंकले पनि घाटा बेहोरेको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा यो बैंकले ३६.३७ प्रतिशतको घाटा बेहोरेर रु. ८५ करोड ५४ लाख ४६ हजार मात्र नाफा आर्जन गरेको छ। गत वर्ष माछापुच्छ्रे बैंकले सोही अवधिमा रु. १ अर्ब ३५ करोड १९ लाख ५२ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो।

यस्तै, नेपाल एसबिआई बैंकको नाफा ३५.४४ प्रतिशतले घटेर रु. १ अर्ब १६ करोड ४१ लाख ७७ हजारमा सीमित भएकाे छ । गत वर्षको सोही अवधिमा यो बैंकले रु. १ अर्ब ८० करोड ३२ लाख ८५ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो।

राष्ट्रिय वाणिज्य बैंकले पनि समिक्षा अवधिसम्म ठूलो घाटा बेहोरेको छ। यो अवधिमा बैंकको नाफा ३३.६ प्रतिशतले घटेर रु. २ अर्ब ३७ करोड ४८ लाख २३ हजार रुपैयाँ पुगेको हो। गत वर्षको सोही अवधिमा बैंकले रु. ३ अर्ब ५७ करोड ६७ लाख ७४ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो।

साथै, ग्लोबल आईएमई बैंकको नाफा पनि २४.१३ घटेर रु. ३ अर्ब ३० करोड ६५ लाख ५२ हजार रुपैयाँ पुगेको छ। गत वर्षको यसै अवधिमा यस बैंकको नाफा रु. ४ अर्ब ३५ करोड ४३ लाख ६४ हजार रुपैयाँ थियो।

यसैगरी गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा रु. रु. १ अर्ब ३० करोड १६ लाख ५९ हजार रुपैयाँ नाफा आर्जन गरेको कुमारी बैंक चालु आर्थिक वर्षको सोही अवधिमा १९.१२ प्रतिशतले घाटामा गई जम्मा रु. १ अर्ब ५२ करोड ७ लाख ९४ हजार रुपैयाँको नाफामा छ।

एनएमबि बैंकको नाफा १६.४४ प्रतिशतले घटेर रु. २ अर्ब २४ करोड १५ लाख ९५ हजार रुपैयाँमा कायम छ भने सानिमा बैंकको नाफा १५.९ प्रतिशतले घटेर रु. १ अर्ब ४३ करोड ९४ लाख ४२ हजार रुपैयाँ छ । गत वर्ष यी बैंकले क्रमशः रु. २ अर्ब ६८ करोड २५ लाख ३२ हजार रुपैयाँ र रु. १ अर्ब ७१ करोड १६ लाख १३ हजार रुपैयाँ नाफा आर्जन गरेका थिए ।

यसैगरी, नबिल बैंकको नाफा ८.७६ प्रतिशतले घटेर रु. ४ अर्ब ६६ करोड ८० लाख २९ हजार रुपैयाँ पुगेको छ । गत वर्ष यो बैंकको नाफा रु. ५ अर्ब ११ करो्ड ६१ लाख ७४ हजार रुपैयाँ थियो । समिक्षा अवधिमा प्रभु बैंकको नाफा ७.२७ प्रतिशतले घटेर रु. १ अर्ब ८१ करोड २४ लाख ५८ हजार कायम छ । गत वर्षको सोही अवधिमा बैंकको नाफा रु. १ .अर्ब ९५ करोड ४६ लाख २५ हजार रुपैयाँ थियो ।

साथै, स्टान्डर्ड चाटर्ड बैंकको नाफा ६.२४ प्रतिशतले घटेर रु. २ अर्ब ४४ करोड ७१ लाख २२ हजार रुपैयाँमा सीमित छ। गत वर्षको तेस्रो त्रैमासमा यो बैंकको नाफा रु. २ अर्ब ६१ करोड ८७ हजार रुपैयाँ थियो।

सबैभन्दा कम घाटामा जाने बैंक भने सिटिजन्स बैंक रहेको छ। यो बैंकको नाफा चालु आर्थिक वर्षको नौ महिनामाा १.९९ प्रतिशतले घटेर रु. १ अर्ब २१ करोड १४ लाख १६ हजारमा सीमित छ। अघिल्लो वर्षको सोही अवधिमा यो बैंकको नाफा रु. १ अर्ब २३ करोड ६० लाख ६१ हजार रुपैयाँ थियो।