नबिल बैंकको खुद नाफा सामान्य अंकले घट्दा अन्य सुचक कस्तो ?

नबिल बैंकको खुद नाफा सामान्य अंकले घट्दा अन्य सुचक कस्तो ?



काठमाडौं-नबिल बैंक लिमिटेडले वित्तीय विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य अंकले घटेको छ ।

बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ४ अर्ब ६६ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ५ अर्ब ११ करोड ६१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद नाफा ८ दशमलव ७६ प्रतिशतले घट्न पुगेको हो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३ दशमलव ७२ प्रतिशतले बढेर १२ अर्ब १० करोड ११ लाख रुपैयाँबाट बृद्धि भई १२ अर्ब ५५ करोड १३ लाख रुपैयाँ पुगेको छ । बैंकको ब्याज आम्दानी बढेपनि खुद नाफा भने घटेको छ ।

बैंकको वितरण योग्य नाफा १ अर्ब ५४ करोड रुपैयाँ रहेको छ । २७ अर्ब ५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको नबिल बैंकको जगेडा कोषमा २७ अर्ब ७८ करोड रुपैयाँ छ ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि झिनो अंकले घटेको छ । समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी ईपीएस २५ रुपैयाँ २१ पैसाबाट घटेर २३ रुपैयाँ २४ पैसा रहेको छ ।

बैंकको इम्पेयरमेन्ट चार्ज २ दशलव ८७ प्रतिशतले घटेको छ । यस अवधिमा बैंकको उक्त चार्ज ३ अर्ब ३३ करोडबाट घटेर ३ अर्ब २३ करोड रुपैयाँ पुगेको छ । सञ्चालन नाफा १०.७२ प्रतिशतले घटेर ६ अर्ब ६८ करोड रुपैयाँ कायम भएको छ ।