माछापुच्छ्रे बैंकले गर्यो नवनिर्मित कार्यालय भवनको समुद्घाटन

माछापुच्छ्रे बैंकले गर्यो नवनिर्मित कार्यालय भवनको समुद्घाटन


काठमाडौं–माछापुच्छ्रे बैंक लिमिटेडले रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १२ स्थित नवनिर्मित बैंकको कार्यालय भवनको समुद्घाटन गरेको छ । उक्त भवनको समुद्घाटन आज आयोजित एक औपचारिक कार्यक्रमकाबीच सिद्धार्थनगर नगरपालिकाका मेयर ईश्तियाक अहमद खाँ र माछापुच्छ्रे बैंकका अध्यक्ष रोशन केसीको संयुक्त रुपमा गरेका हुन् ।

कार्यक्रममा बोल्दै मेयर खाँले माछापुच्छ्रे बैंकले आफ्नै नयाँ कार्यालय भवनबाट कार्य शुभारम्भ गरेको अवसरमा खुसी व्यक्त गर्दै बैंकलाई अझै उचाईमा लग्न बैंक संचालक एवम् व्यवस्थापन समितिलाई शुभकामना व्यक्त गरे । उक्त कार्यक्रममा बोल्दै बैंकका अध्यक्ष केसीले माछापुच्छ्रे बैंकले हरेक क्षेत्र र वर्गमा बैंकिङ्ग सेवा पुर्याउने लक्ष्यका साथ सेवा प्रदान गरिरहेको र लुम्बनी प्रदेशमा आफ्नै कार्यालय भवनबाट सेवा प्रदान गर्न पाउँदा निक्कै नै हर्ष लागेको बताए । साथै बैंकले गुणस्तरिय सेवा प्रदान गर्नको लागि कुनैपनि कुरामा सम्झौता नगर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

उक्त औपचारिक समारोहमा सिद्धार्थनगर नगरपालिकाका उपमेयर, रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल राष्ट्र बैंक लुम्बिनी प्रदेशका निर्देशक तथा उपनिर्देशक, सुरक्षा संयन्त्रका प्रमुख लगायत बैंक संचालक समितिका पदाधिकारी तथा उच्च व्यवस्थापन तहका कर्मचारी एवम् बैंकका कर्मचारीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।