काठमाडौं–वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेहरूमा भक्तपुर सूर्यविनायक नगरपालिका९७ घर भई काठमाडौं महानगरपालिका–९ सम्भूमार्ग बस्ने २७ वर्षीय पवन केसी, मुगु खत्याड गाउँपालिका–८ घर भई काठमाडौं कोटेश्वर बस्ने २३ वर्षीय नमराज रावत र भोजपुर टम्केमैयङ गाउँपालिका–३ घर भई ललितपुर ताल्छीखेल बस्ने २६ वर्षीय सङघर्ष राई रहेका छन्।
पक्राउमध्ये पवनले दुबई पठाईदिन्छु भन्दै १ जना पीडितबाट रु. ४ लाख ९० हजार रूपैयाँ ठगी गरेको, नमराजले रसिया पठाईदिन्छु भन्दै १ जना पीडितबाट रु. ३ लाख रूपैयाँ ठगी गरेको र सङघर्षले युरोपका देशहरू पठाईदिन्छु भन्दै १३ जना पीडितहरूबाट रु. ७४ लाख ९५ हजार रूपैयाँ ठगी गरेको खुल्न आएको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पवनलाई काठमाडौं सम्भूमार्गबाट, नमराजलाई काठमाडौं नयाँ बानेश्वरबाट र सङघर्षलाई काठमाडौं बालाजुबाट पक्राउ गरेको हो । उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
प्रतिक्रिया