गरिमा विकास बैंकको सीईओमा माधव प्रसाद उपाध्याय

गरिमा विकास बैंकको सीईओमा माधव प्रसाद उपाध्याय


काठमाडौं– गरिमा विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा माधव प्रसाद उपाध्याय चयन भएका छन् । बैंकमा विगत १५ वर्षदेखि निरन्तर सीईओको जिम्मेवारी सम्हाल्दै आएका गोविन्द प्रसाद ढकालको २०८० चैत्र मसान्तमा कार्यकाल समाप्त भएसँगै गत चैत्र १४ गते सम्पन्न बैंकको सञ्चालक समितिको ३०४औं बैठकले नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत उपाध्यायलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो ।

काठमाडौंको बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा भएको विशेष समारोहकाबीच सीईओमा चयन भएका उपाध्यायले वैशाख १ गते पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् । साथै सोही समारोहमार्फत बैंकले बैंकका निवर्तमान प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालको विदाई गरेको हो ।

पद तथा गोपनियताको समथ ग्रहण पश्चात बोल्दै नवनियुक्त उपाध्यायज्यूले विकास बैंकमा कार्यरत सशक्त युवा जनशक्ति मार्फत संस्थागत सुशासन र अनुपालनालाई पहिलो प्राथमिकतामा राखी विकास बैकलाई थप उचाईमा पु¥याउने तथा सदैव उत्कृष्ट प्रतिफल प्रदान गर्नमा केन्द्रीत रहने प्रतिवद्धता व्यक्त गरे । त्यसैगरी निवर्तमान प्रमुख कार्यकारी अधिकृत ढकालज्यूले विगत १५ वर्षभन्दा बढी समय विकास बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी प्रदान गरेकोमा सञ्चालक समतिप्रति कृतज्ञता व्यक्त गरे ।

कार्यक्रममा विकास बैंकका अध्यक्ष श्याम प्रसाद बस्यालज्यूले विकास बैंकलाई यो उचाईसम्म पुर्याउनका लागि निवर्तमान प्रमुख कार्यकारी अधिकृतले खेलेको महत्वपूर्ण भूमिकाको प्रशंसा गर्दै नवनियुक्त प्रमुख कार्यकारी अधिकृतको नेतृत्वमा विकास बैंक आगामी दिनमा सम्पूर्ण परिसूचकमा थप सबल र उत्कृष्ट हुने अपेक्षा रहेको बताए।

उक्त समारोहमा विकास बैंकको सञ्चालक समितिका पदाधिकारीहरु, पूर्व अध्यक्षहरु, गरिमा म्युचुअल फण्डका कोष सुपरिवेक्षकहरु, सहायक कम्पनी गरिमा क्यापिटल लिमिटेडका अध्यक्ष, सञ्चालक समिति सदस्य र प्रमुख कार्यकारी अधिकृत, विकास बैंकमा व्यवस्थापन तहमा कार्यरत पदाधिकारीहरु तथा अन्य कर्मचारीहरु समेतको उपस्थिति रहेको थियो ।