नबिल बैंक र गल्छी गाउँपालिकाबीच साझेदारी, विपन्न वर्गका किसान र उद्यमीलाई बलियो बनाउने

Manoj Regmi
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
 नबिल बैंकले धादिङको गल्छी गाउँपालिकासँग समझदारी गरेको छ। बैंकले गल्छी गाउँपालिकामा वित्तीय साक्षरता तथा अभिमुखीकरण गरी गाउँपालिकासँग दिगो बैंकिङ अन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचको लागि समझदारी गरेको हो।
बैंकका वागमती प्रदेश प्रमुख अमित श्रेष्ठ र गाउँपालिकाका अध्यक्ष कृष्णहरि श्रेष्ठले साझेदारी सम्झौतामा हस्ताक्षर गरे।

समझदारीमार्फत गाउँपालिकाहरुले स्थानीय स्तरमा संचालन गर्ने विभिन्न उद्यम सम्बन्धी कार्यक्रम वा तालिम लिएर उद्यम गर्न चाहने उद्यमीहरुलाई गाउँपालिकाको सिफारिसमा बैंकले उद्यम गर्न बैंकको नियम अनुसार कर्जा उपलब्ध गराउने र त्यस्ता कार्यक्रम वा तालिमहरुमा वित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण कार्यक्रम समेत संचालन गर्ने उद्देश्य रहेको बैंकले जनाएको छ ।

नबिल बैंकका वागमती प्रदेश प्रमुख अमित श्रेष्ठले सम्झौताले गल्छी गाउँपालिकामा रोजगारी र उद्यमशीलता विकास गरी सामाजिक रुपान्तरणमा सहयोग गर्ने बताए।

गल्छी गाउँपालिकाका अध्यक्ष कृष्णहरि श्रेष्ठले नबिल बैंकको दिगो बैंकिङले निम्न वर्गीय किसान तथा उद्यमीलाई बलियो बनाउने विश्वास व्यक्त गरे। वास्तविक किसान तथा उद्यमी पहिचान गरि बैंकसम्म पुर्‍याइ गाउँपालिकाको विकासमा सहयोग गर्न उनले सबैलाई आग्रह समेत गरे।

बैंकले गत असार १५ गते धान दिवसको अवसर पारी नबिल दिगो बैंकिङ सुरु गरेको हो। नबिलले विपन्न वर्गलाई लक्षित गरी दिगो बैंकिङ कार्यक्रम सार्वजनिक गरेको जनाएको छ।

कार्यक्रम अन्तर्गत बैंकले नबिल किसान कर्जा र नबिल उद्यमशील कर्जा शुरु गरेको हो। बैंकले ग्रामीण क्षेत्रमा वित्तीय पहुँच न्यून भएका वर्गलाई कृषि क्षेत्रको व्यावसायिकरण र उद्यमशीलता विकासका लागि ल्याएको कार्यक्रम सुरुमा १७ वटा दुर्गम शाखाहरुबाट संचालन गरी बैंकले नबिल किसान कर्जा र नबिल उद्यमशील कर्जा प्रवाह गर्दै आएको जारी विज्ञप्तिमा उल्लेख छ।