आठ महिनामा वाणिज्य बैंकहरुले कमाए ४२ अर्ब नाफा

आठ महिनामा वाणिज्य बैंकहरुले कमाए ४२ अर्ब नाफा


काठमाडौं–चालु आर्थिक वर्षको आठ महिनामा वाणिज्य बैंकहरूले कुल रु. ४२ अर्ब ३० करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको मासिक तथ्यांक अनुसार गत माघ मसान्तसम्मको तुलनामा नाफा रु. ६ अर्ब १८ करोड ५० लाख रुपैयाँ बढी हो ।

सोही तथ्यांक अनुसार २० वटा वाणिज्य बैंकमध्ये सबैभन्दा बढी नाफा आर्जन गर्नेमा नबिल बैंक देखिएको छ । जसले आठ महिनामा रु. ४ अर्ब ७२ करोड ४२ लाख रुपैयाँ नाफा आर्जन गरेको हो । यस्तै आठ महिनामा धेरै नाफा आर्जन गर्ने बैंकको दोस्रो नम्बरमा ग्लोबल आइएमई बैंक रहेको छ । यो बैंकले सो अवधिमा रु. ३ अर्ब ४३ अर्ब रूपैयाँ खुद नाफा कमाएको हो ।

प्राइम कमर्सियल बैंक तेस्रो नम्बरमा रहेको छ । चालु आर्थिक वर्षको आठ महिनामा यो बैंकले कुल रु. २ अर्ब ८८ करोड ७८ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको हो। यस्तै रु. २ अर्ब ८७ करोड ७६ लाख रूपैयाँ खुद नाफा कमाउँदै राष्ट्रिय वाणिज्य बैंक चौथो स्थानमा परेको।

सोही अवधिमा नेपाल इन्भेष्टमेन्ट मेघा बैंकले रु. २ अर्ब ८० करोड रूपैयाँ, एनआइसी एशियाले रु. २ अर्ब ५४ करोड २४ लाख रुपैयाँ, एभरेष्ट बैंकले रु. २ अर्ब २९ करोड ३४ लाख रुपैयाँ, स्ट्याण्डर्ड चार्टर्डले २ अर्ब ८ करोड ९६ लाख र कृषि विकास बैंकले १ अर्ब ९७ करोड ६७ लाख नाफा कमाएको तथ्यांकमा उल्लेख छ ।

यसैगरी हिमालयन बैंक, एनएमबि, लक्ष्मी सनराइज, सिद्धार्थ, सानिमाप्रभु बैंकले क्रमशः रु. १ अर्ब ९४ करोड ८३ लाख, रु. १ अर्ब ९२ करोड ५२ लाख, रु. १ अर्ब ८२ करोड ६ लाख, रु. १ अर्ब ६९ करोड ६५ लाख, रु १ अर्ब ६६ करोड ४८ लाख र रु. १ अर्ब ५१ करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् । साथै कुमारी बैंकले रु. १ अर्ब ४२ करोड ४६ लाख रुपैयाँ, नेपाल बैंकले रु. १ अर्ब २८ करोड २९ लाख, सिटिजन्सले रु. १ अर्ब २२ करोड ६५ लाख, माछापुच्छ्रेले १ अर्ब १६ करोड ४८ लाख र नेपाल एसबिआईले १ अर्ब ८० लाख रुपैयाँ नाफा कमाएका छन् ।