बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) ले सदस्यलाई १२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । सोमबार २९औं वार्षिक साधारणसभाको लागि वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । उक्त प्रतिवेदनमा अघिल्लो आर्थिक वर्षको नाफाबाट १२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । संस्थाको २९ औं साधारण सभा असोज ३ गतेखि ९ गतेसम्म हुँदैछ ।
संस्थाका अध्यक्ष रामचन्द्र उप्रेती, सञ्चालक समिति सदस्य डम्बरबहादुर बस्नेत, प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेतीलगायतले संस्थाको नीति तथा कार्यक्रमसहितको वार्षिक प्रतिवेदन सार्वजनिक गर्नुभएको थियो ।
संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले असोज ९ गते वार्षिक साधारणसभा अन्तरगत माइन्युट प्रमाणित सभाको रुपमा मेचीनगर– १४, दुहागढीस्थित एनएमसी एकीकृत नमूुना कृषि फर्ममा गरिने जानकारी दिनुभयो । संस्थाका ४५ वटा बैंकिङ कार्यालयलाई ईकाई मानेर सदस्यहरुलाई आमन्त्रण गरी आगामी असोज ३ गतेदेखि ८ गतेसम्म छलफल गर्ने र उनीहरुबाट सुझाव संकलन गरिने तथा माइन्युट प्रमाणित गर्न तीनरतीन जनाका दरले प्रतिनिधि छनौट गरी असोज ९ गते साधारणसभा सम्पन्न गरिने उहाँले बताउनुभयो । सार्वजनिक प्रतिवेदनमा संस्थाले यसवर्ष मोरङ र इलाममा कार्यक्षेत्र थप गरेको तथा २०७८ असार मसान्तमा एक लाख पाँच हजारभन्दा बढी सदस्यहरु रहेको उल्लेख छ ।
त्यस्तै संस्थाको २०७८ साल असार मसान्तको शेयर पुँजी एक अर्ब ११ करोड ६० लाख ६ हजार २०० रुपैयाँ, निक्षेप आठ अर्ब ८५ करोड ४२ लाख २३ हजार ४०३ रुपैयाँ, कर्जा लगानी नौ अर्ब २४ करोड ६ लाख ४० हजार ९९४ रुपैयाँ, जगेडा कोषमा ६८ करोड र कर अघिको नाफा २७ करोड ४० लाख ६९ हजार ५४८ रुपैयाँ रहेको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
असल संस्कार र समृद्धिका लागि एनएमसी भन्ने नाराका साथ सञ्चालित संस्थाले बैंकिङ, डेरी, एकीकृत नमूना कृषि फार्म, सहकारी पसल, चिया उद्योग गरी पाँच वटा व्यवसाय सञ्चालन गरेको छ । एनएमसीले अब एग्रो सपोर्ट विजनेस, प्याकेजिङ उद्योग, चामल मिल, तोरीको तेल मिल जस्ता उद्योगहरु सञ्चालन गर्ने योजना बनाएर अध्ययन भइरहेको अध्यक्ष उप्रेतीले जानकारी दिनुभयो ।
एनएमसीले समीक्षा वर्षमा ४४३ जनालाई मृत्यु राहत, ६५ जना दीर्घ रोगीलाई उपचार राहत, १८ जनालाई घाइते उपचार राहत, १५ जनालाई प्राकृतिक प्रकोप राहत, ६३ जना कोभिड संक्रमित कर्मचारीलाई राहत दिएको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै एनएमसीले बजार प्रतिनिधिहरुलाई कर्मचारीमा रुपान्तरण, योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सहभागिता, संरक्षित पुँजी फिर्ता कोष वितरण लगायतका कार्यक्रम अघि सारेको छ ।
साधारणसभामा प्रस्तुत गरिने प्रतिवेदनमा १२ प्रतिशत शेयर बोनस वितरण गर्ने, कर्मचारीको तलब १० देखि १५ प्रशित बढाउने, सहकारी पसलको वेयरहाउस निर्माणका लागि जमिन खरिद गर्ने आदि प्रस्तावहरु गरिएको छ ।
प्रतिक्रिया