बैंकिङ्ग समाचार, काठमाडौं ।
यस वर्ष दशैंका लागि असोज ४ गतेबाट राष्ट्र बैंकले सर्वसाधारणलाई नयाँ नोट वितरण गर्ने भएको छ।
राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले बैंक तथा वित्तीय संस्थाहरुलाई भने नयाँ नोट दिन थालिसकेको जानकारी दिए। ‘बैंक तथा वित्तीय संस्थाहरुलाई नोट दिन थालिसकेका छौं, सर्वसाधारणका लागि असोज ४ गतेदेखि सटही गर्ने योजनामा छौं’ सेतोपाटीसँग उनले भने।
सर्वसाधारणले ५, १०, २०, ५० र १ सय अंकित दरका नयाँ नोट सटही गर्न पाउने छन्। ती नोटको १/१ बण्डलसम्म सर्वसाधारणले पाउने छन्। राष्ट्र बैंकको प्रधान कार्यालय बालुवाटार तथा क्षेत्रीय कार्यालयहरुबाट सर्वसाधारणले नयाँ नोट पाउने छन्। एक व्यक्तिले राष्ट्र बैंकबाट १८ हजार ५ सय रुपैयाँसम्म नयाँ नोट पाउने प्रवक्ता ढकालले बताए।
साथै सरकारी स्वामित्वका राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास र नेपाल बैंकका निश्चित शाखाबाट पनि नोट वितरण गर्ने तयारी गरिएको छ। सर्वसाधारणले आफूलाई पायक पर्ने बैंकको शाखाबाट पनि नयाँ नोट लिन पाउने छन्। गत वर्ष कोरोना महामारीका कारण राष्ट्र बैंकले नयाँ नोट सटही गरेको थिएन। यसपालि कोरोनाको संक्रमणमा कमी आएसँगै नयाँ नोट सटही गर्ने निर्णय भएको हो।



About Us
प्रतिक्रिया