गरिमा विकास बैंकको सीईओमा माधव प्रसाद उपाध्याय

गरिमा विकास बैंकको सीईओमा माधव प्रसाद उपाध्याय


गरिमा विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा माधव प्रसाद उपाध्याय नियुक्त भएका छन् ।बैंकको बुधवार ४ः०० बजे बसेको सञ्चालक समितिको ३०४औं बैठकले सीईओमा उपाध्यायलाई नियुक्त गरेको हो ।

यस विकास बैंकमा विगत १५ वर्षदेखि निरन्तर प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका गोविन्द प्रसाद ढकालको कार्यकाल २०८० चैत्र मसान्तमा समाप्त हुने भएसँगै उनलाई २०८१ वैशाख १ गतेदेखि लागू हुने गरी ४ वर्षकोे लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको हो ।

व्यवस्थापनमा स्नातकोत्तर गरेका उनी गरिमा विकास बैंक लिमिटेडमा स्थापना कालदेखि कार्यरत रहनुका साथै विगत १५ वर्षदेखि कम्पनी सचिवको रुपमा र विगत ११ वर्षदेखि नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत छन् । साथै, सोही बैठकले विकास बैंकमा कार्यरत सहायक प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीलाई आजदेखि लागू हुने गरी बैंकको कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको छ ।

काठमाडौं लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले काठमाडौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा एटिएम मार्फत ग्राहकहरुलार्ई सेवा प्रदान गर्दै आइरहेको छ ।