बैंकिङ्ग समाचार, काठमाडौं ।
सामलिङ्ग पावर कम्पनीले साउन २२ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र ईलामका स्थानिय वासिन्दाहरुका लागि ५ करोड रुपैयाँ बरारबरको आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले प्रतिशेयर १०० अंकितमूल्यका ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्ता साधारण शेयर निष्काशन गर्नेछ ।
निष्काशन गरिने कुल शेयरमध्ये ६० प्रतिशत अर्थात ३ लाख कित्ता आयोजना प्रभावित क्षेत्र ईलाम जिल्लाभरीका बासिन्दाहरुका लागि र बाँकी ४० प्रतिशत अर्थात २ लाख कित्ता आयोजना अति प्रभावित क्षेत्र ईलाम नगरपालिका वडा नं. ८ र १० तथा माईजोगमाई गाँउपालिका वडा नं. ४ र ५ का बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो।
उक्त आईपीओमा साउन २२ गतेदेखि छिटोमा भदौ ४ गतेसम्म र ढिलोमा भदौ २० गतेसम्म आवेदन दिन पाइनेछ । लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।
नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्या बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। विशेषगरी नेपाल एसबिआई बैंक, एनएमबि बैंक, सिद्धार्थ बैंक, सिभिल बैंक र लक्ष्मी बैंकका ईलाम शाखा कार्यालयबाट आवेदन दिन पाउने व्यवस्था मिलाइएको छ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ।
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई इक्रा नेपालले इक्रा एनपी इस्युअर रेटिङ्ग डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
उर्जा डेभलपर्स प्रा.लिको ग्रुप कम्पनी सामलिङ्ग पावर कम्पनी लिमिटेडद्धारा इलाम जिल्लामा निर्माणाधिन माईबेनी जलविद्युत आयोजना (९.५१ मे.वा) २०२० डिसेम्बरसम्ममा सम्पन्न गर्ने लक्ष्य राखेको छ । कम्पनी स्थापनको तीन वर्षभित्र उर्जा डेभलपर्सले ग्रुप कम्पनी मार्फत अन्य दुई जलविद्युत आयोजनाको पनि निर्माण गरिरहेको छ ।
प्रतिक्रिया