हवाई जहाज पुरानो हुन्छ कि हुँदैन ?

हवाई जहाज पुरानो हुन्छ कि हुँदैन ?


नेपाल प्राकृतिक र भौगोलिक रुपले बिश्वकै सुन्दर देशहरुको सुचीमा रहेको छ ।कृषि, जडिबुटी,जल बिद्युत तथा   नेपालको सुन्दरता र प्राचिन संस्कृतिलाई  जोडेर  समृद्धीको यात्रा तय गर्न नेपालसंग बहुआयमिक अवसरहरु छन्,  त्यसमध्ये हवाई यातायात र  पर्यटनपनि हाम्रा लागि असिमित अवसर बोकेको  क्षेत्र  हो ।यस क्षेत्रको दिगो विकास तथा विस्तारका लागि हवाई सुरक्षा अत्यन्त महत्वपूर्ण र संबेदनशील बिषय हो।  सधै चर्चाको बिषयका रूपमा रहने हवाई क्षेत्रको सुरक्षाका विभिन्न पक्षहरु जस्तै ,  नेपालमा हवाई दुर्घटनामा भौगोलिक , प्राविधिक तथा मानवीय पक्षको भूमिका कस्तो रहने गरेको छ  ? नेपाल नागरिक उड्डयन प्राधिकरण टुक्र्याउन कतिको आवश्यक छ  ? यस्तै  सेरोफेरोमा रहेर नेपाल वायुसेवा निगमका इन्जिनियरिङ विभागका पुर्व निर्देशक तथा  नेपाल नागरिक उड्डयन प्राधिकरणका बोर्ड सदस्य अच्युतराज पहाडीसँग बैकिङ्ग समाचारको  ‘कार्यक्रम एभीएसन टक’ मा सुरेन्द्र कट्टेलले गरेको कुराकानीमा आधारित सम्पादित अंश: 

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) मा बोर्ड सदस्यहरुको भूमिका के हुन्छ ? 

नेपाल नागरिक उड्डयन प्राधिकरण बोर्डले निती निर्माणको कामलाई प्राथमिकतामा राखेर दैनिक कार्य सञ्चालन भन्दा बाहिर रहेर प्राधिकरणका प्रबन्ध निर्देशकले ल्याएको प्रस्तावलाई अध्ययन गरी समय सापेक्ष र आवश्यकताका आधारमा उपयुक्त निर्णय गर्छ । 

प्राविधिक पक्षले हवाई सुरक्षासँग सम्बन्ध राख्ने भएकाले नेपालका जहाजहरु हवाई सुरक्षाको प्रत्याभुती गराउन प्राविधिकरुपमा सक्षम छन् ? 

म लामो समय नेपाल वायुसेवा निगममा गरेको अनुभव र चालक दलमा पनि सँगै रहेर १६ बर्ष काम गरेको आधारमा भन्न सक्छु नेपालका जहाज जति मर्मत संम्भार भएको छ त्यसरी प्राय देशमा मर्मत संम्भार भएको हुदैन । अहिलेसम्म भएका अधिकांश प्लेन दुर्घटना प्राविधिक कारणले नभई मानवीय त्रुटिका कारण भएका छन् । नेपाल वायुसेवा निगममा कुनै ईन्जिन तथा उपकरणमा  आउने संकेतमात्र प्राप्त हुँदा तुरुन्तै अर्को फेरिन्छ तर निजी विमानमा भने सबैले यसो गरेको पाईदैन । उनीहरुले नाफामुखी रुपमा काम गर्ने भएकाले पनि खर्च बढाउन नचाहेको हुनसक्छ । तर अहिलेसम्म जती पनि निजी क्षेत्रका जहाजहरु  दुर्घटना भएका छन् तिनीहरुमा प्राविधिक समस्या आएर भने  भएका छैनन् । 

हवाई जहाज पुरानो हुन्छ कि हुँदैन ? नेपालमा जहाज दुर्घटनाको कारण सधै मानवीय त्रुटि देखाईन्छ , त्रुटि भएर देखाईन्छ की नहुँदा पनि देखाईन्छ ? 

एयर फ्रेमका हिसावले पुरानो हुन्छ तर ईन्जिन निश्चीत समयमा फेरिने भएकाले  नयाँ कै रुपमा काम गर्छ । जहाज पुरानो भएर दुर्घटना हुने होईन जुनै कुराको आयु हुने भएकाले फ्रेम पुरानो हुन्छ तर ईन्जीन पुरानो हुनै  नदिने भएकाले जहाज पुरानो भएर दुर्घटना हुदैन । यसको मतलब निश्चित  समयमा नयाँ इन्जीन रिप्लेस गरेपछि नयाँ नै हुन्छ । जहाँसम्म मानवीय त्रुटिको कुरा छ  पर्यटनको हिसाबले राम्रो मानिएको मौसम तथा हाम्रो भूगोल हवाई सुरक्षाको हिसाबले चुनैतीपुर्ण छँदैछ तथापि  नेपालमा हुने अधिकांश दुर्घटना मानवीय त्रुटिले नै हुन्छ । पोखरामा  पछिल्लो समय भएको यती एयरलाईन्सको दुर्घटनालाई नै हामीले उदाहरणका रुपमा लिन सकिन्छ । 

अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आईकाओ) ले सेफ्टी लिस्टबाट हटाएपनि ईयूले नेपालको हवाई क्षेत्रलाई कालोसुचीमा राखिरहेको प्रति तपाईको धारण के छ ? 

हाम्रो देशमा हवाई क्षेत्रको स्थलगत निरीक्षण प्रभावकारी नबने कै कारण ईयूको कालो सूचीबाट हट्न नसकेको हो ।  ईयूले अहिलेसम्म सेवा प्रदायक र नियमक फरक–फरक हुनुपर्छ भनेर किटान नै नगरे पनि  अलग्गै राख्दा सुरक्षा मापदण्डमा पालना दर बढ्छ भन्ने सुझाव दिएको छ । अन्तर्राष्ट्रिय क्षेत्रमा सबै देशले नियमक र सेवा प्रदायक भनेर छुट्टाछुटै बनाएको छैन तर सुरक्षा मापदण्ड पालनामा कडाई गर्नैपर्छ त्यसका लागी क्यान टुक्र्याउन जरुरी छैन । काम गर्नेको नियत राम्रो हुँदा नियमक र सेवा प्रदायक एउटै संरचनामा राखेर काम गर्न सकिन्छ । 

नागरिक उड्डयन प्राधिकरण (क्यान) टुक्र्याउने बिषयमा बनेका बिधेयक हवाई माफियाको प्रभावले रोकिए भन्नेपनि हल्ला छ, के यसै भएको होला त ?  

कसैको प्रभावले रोकिएको पनि हुन सक्ने शंकाको सुविधा छ । तर क्यानलाई छुट्टाछुट्टै बनाएर आफ्ना मान्छे राख्न पाईन्छ भन्ने कसैको नियतपनि हुन सक्छ  । त्यसकारण यसलाई एकैठाउँमा राखेर गरिने काम कारबाहीलाई चुस्तदुरुस्त राख्न सके अलगै बनाईरहनु पर्दैन ।

नेपाल वायुसेवा निगम लगायत उड्डयनको अवस्थालाई बिकासक्रमका आधारमा  कसरी ब्याख्या गर्नु हुन्छ ? 

व्यवस्थापकीय कमजोरी तथा दिर्घकालीन सोचको अभावले नै अहिले जहाज अभाव छ ।  २०/२२ वटा जहाजबाट घटेर नेपाल एयरलाईन्सको जहाजको संख्या ४ वटामा सिमित भएको छ । बिशेष गरी नेपाल वायुसेवाले २ वटा जहाज ७५७ बिक्री गर्ने निर्णय गर्यो  त्यो नै ठूलो गल्ती भयो । खराब नियतका साथ काम गर्ने प्रवृत्ति बढेकोले जहाजको संख्या घट्दैछ । त्यसको पछिल्लो  उदाहरणका रुपमा  एउटा जहाज इजराइलमा  ३ महिना देखी मर्मत गर्न भनेर राखिएको छ । त्यो किन के कारणले यत्रो समय राखियो कसले जवाफ दिने कसैलाई थाहा छैन । बर्तमान अवस्थामा नेपाल वायुसेवा निगमले जहाज किन्नै पर्छ तर पहिला बजार अध्ययनलाई प्राथमिकतामा राख्नुपर्छ । 

नेपालका पाईलटहरुलाई समयानुकुल तालिम दिन आवश्यक छ ? 

टुईअटर (साना) जहाजको हकमा पाईलटहरुले लिएको तालिम पर्याप्त भएपनि  एयरबस (ठुला) जहाजको हकमा भने थप तालिमको आवश्यकता छ । जतिपनि पाईलट छन् उनीहरुलाई त्यही कम्पनीबाटै तालिम दिनुपर्छ । अब सबै पाईलटहरुलाई पुर्ण प्याकेजमा ह्युमन फ्याक्टरको तालिम दिनैपर्छ  । पाईलटरुलाई भौगोलिक पाटोका बारेमा पनि राम्रो तालिम दिनुपर्छ ।