सात महिनामा ६० करोडको यार्सागुम्बा निर्यात


काठमाडौं– चालु आर्थिक वर्ष २०८०/०८१ को सात महिनामा ६० करोड रुपैयाँको यार्सागुम्बा निर्यात भएको छ। भन्सार विभागका अनुसार सात महिनामा ६० करोड ६१ लाख ८५ हजार रुपैयाँको एक हजार २४६ किलोग्राम यार्सागुम्बा निर्यात भएको हो ।

गत आर्थिक वर्ष ४४ करोड ३१ लाख ९१ लाख रुपैयाँको मात्रै यार्सागुम्बा निर्यात भएको थियो । विभागका अनुसार गत आर्थिक वर्ष २०७९/०८० मा साे रकम बराबरकाे ६८३ किलोग्राम यार्सागुम्बा मात्र निर्यात भएको हो ।

हाल नेपालका डोल्पा, दार्चुला, जुम्ला, हुम्ला, मुगु, कालीकोट, बझाङ, बाजुरा, जाजरकोट, रुकुम, रोल्पा, बागलुङ, म्याग्दी, मुस्ताङ, मनाङ, लमजुङ, गोर्खा, धादिङ, रसुवा, सिन्धुपलाञ्चोक, दोलखा, रामेछाप, सोलुखुम्बु, संखुवासभा र ताप्लेजुङ गरी २५ जिल्लाका उच्च क्षेत्रमा यार्सागुम्बा उत्पादन हुने गरेको छ ।

नेपालबाट हङकङ, भियतनाम, सिंगापुर, अस्ट्रेलिया, अस्ट्रिया, चेक रिपब्लिक, ग्रिस, जापान, मलेसिया, मङ्गोलिया, रुस, बेलायत र अमेरिकालगायत १५ भन्दा बढी देशमा यार्सागुम्बा निर्यात हुने गरेको छ ।