लक्ष्मीले पुरा गरेको आफ्नो लक्ष्य 

लक्ष्मीले पुरा गरेको आफ्नो लक्ष्य 

अस्मिता बम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– सफलताको परिभाषा आफैमा व्यक्तिपरक हुन सक्दछ । तर हरेक मानिसले आफ्नो लक्ष्य प्राप्त गर्ने सपना बुनेको नै हुन्छ, त्यो लक्ष्य प्राप्त गर्न हरेक दिन मानिसहरु मरिमेटेर  लागि परिरहेका  हुन्छन् । आफ्नो–आफ्नो लक्ष्य प्राप्त गर्न अनेकन प्रयत्न गर्दै निरन्तर संघर्ष गरिहन्छन् । भनिन्छ, एउटा अठोट लिएर प्रयास गर्नेहरुका सपनाहरु कहिलै अधुरा रहँदैनन् । बस यत्ति हो कि, आफ्नो लक्ष्य प्रतिको स्पष्टता, निरन्तरको लगाव, अनुशासन र समय व्यवस्थापन जस्ता गुणका कारण कसैका सपना पुरा हुन्छन् त कसैका सपना अधुरा रहन्छन् ।

आफूले गरेको संघर्ष र सफल हुन्छु भनि आफैसँग गरेको अठोटले सायद त्यति धेरै महत्व राख्दैन किनकि कुनै पनि सपना पुरा गर्न मानिसले त्यसका लागि तयारी गर्दै त्यसमा निहित चुनौती सामना गर्न आफ्ना कमजोरीहरु पहिचान गर्दै सिप, ज्ञान र आवश्यक सुझबुझको विकासमा निरन्तर लागि पर्नुपर्दछ। भनिन्छ नि ‘सफलता मानिसको तयारी र मौका बीचको  जम्काभेट हो ।‘   

यसर्थ समयमै लक्ष्य प्राप्त गर्न परिश्रमसँग अवसरहरुको पहिचान गर्दै तालमेल मिलाउन सक्ने क्षमता पनि चाहिन्छ । यसैगरी आफ्नो लक्ष्य पुरा गर्न  मेहनत र अवसरहरुसँग लय मिलाउदै  विगत १५ वर्षदेखिको बैंकिङ्ग यात्रामा अनवरत हिँडिरहेकी एक बैंकर हुन्, लक्ष्मी डुम्रे । 

सन् २००५ मा कक्षा १२ को परीक्षा दिएलगत्तै  लक्ष्मीले तत्कालिन समयको लर्ड बुद्ध बैंकबाट  ‘ट्रेनी असिस्टेन्ट’को भूमिकामा रही  बैंकिङ्ग यात्रा शुरु गरेकी थिइन्। उनको मेहनत र आफूप्रतिको आत्मविश्वासले उनलाई बैंकिङ्ग क्षेत्रमा प्रवेश गरेको आठ महिनामै म्यानेजर बन्न सफल बनायो । 

लडबुद्ध बैंकमा असिस्टेन्टको काम गरिरहेकी उनले गौरीशंकर बैंकमा शाखा प्रबन्धक (ब्रान्च म्यानेजर) को पदमा पदपूर्तिका लागि  दरखास्त आव्हान  देखेपछि उनले त्यसमा अप्लाइ गरिन् । बैंकको शाखा व्यवस्थापनको काम सिक्न बाँकी भएपनि ‘म सक्छु’ भन्ने लक्ष्मीको आटलाई उनको भाग्यको साथ मिल्यो । भन्छिन्, ‘मलाई बच्चैबाट म्यानेजर नै बन्ने सोच थियो । गौरीशंकरमा म्यानेजरको पोष्ट खाली छ भन्ने थाहा पाएपछि अप्लाइ गरेँ । अरु पनि हुनुहुन्थ्योँ तर म सेलेक्ट भएँ । त्यति छिट्टै बन्छु भनेर चै सोचेकी  थिएन ।’ 

जम्मा आठ महिना मात्र सहायक  तहमा  काम गरेर सिँधै एउटा शाखा प्रमुखको जिम्मेवारी बहन गर्नुपर्दाको क्षण सम्झिदै  उनी भन्छिन्, ‘शुरु–शुरुमा सक्छु होला कि सक्दिन होला जस्तो  लाग्थो तर परेपछि ब्यहोरिन्छ भनिन्छ जस्तै भो । त्यसैमाथि आफैले बालापनदेखि देखेकोको सपना । गर्दै–गर्दै जाँदा अब त यत्रो वर्ष भैसक्यो  ।’ काठमाडौंमै बसोवास गरिरहेकी उनलाई म्यानेजरको पोष्टले चितवन पुर्यायो । त्यहाँ दुई वर्ष काम गरेपछि उनले गोरखा डेभलोपमेन्ट बैंकमा म्यानेजरकै लागि दरखास्त दिइन् । यहाँ पनि उनको इच्छाअनुसार भाग्यले साथ दियो । त्यसमा छानिएपछि  गोरखा जिल्लाको एउटा शाखामा उनको उनको कार्यक्षेत्र तोकियो  । काम गर्दै जाँदा  उनको नेतृत्वको त्यस शाखाले ‘वेस्ट ब्रान्च अफ दी इयर’ को अवार्ड पाएको आज पनि लक्ष्मीको मस्तिष्कमा ताजै छ ।

बैंकको म्यानेजर नै भएर काम गरिरहेको भएपनि लक्ष्मीको मनमा  भने अलि ठूलो  बैंकसँग जोडिएर थप चुनौती र जिम्मेवारी लिने चाहना  थियो । गोरखा बैंकमा ९ महिना काम गरेपछि उनले ग्लोबल बैकमा शाखा प्रबन्धककै लागि परीक्षा दिइन् । उनलाई समयले पुनः साथ दियो । उनको ठूलो संस्थासँग सम्बद्ध रहेर आफ्नो बैंकिङ्ग  क्यारियर अघि बढाउने सपना साकार  भयो  । ग्लोबल आईएमई  बैंकको इटहरी, धरान, चितवनका  शाखाहरुको नेतृत्व सम्हालेकी लक्ष्मी भन्छिन्, ‘आफ्नो लगनशीलतामा समयले  पनि एकोहोरो साथ दिँदा सफलतासँगै खुसी पनि मिल्दो रहेछ ।’

देशका विभिन्न ब्रान्चमा कुशलताकासाथ जिम्मेवारी  निभाएर  विगत लामो समयदेखि काठमाडौंको कलंकी शाखाको नेतृत्व गरिरहेकी लक्ष्मी आफु लक्ष्यमा चाँडै पुगेको भएपनि त्यसको पछाडि आफ्नो पेशागत इमान्दारिता लगन र मेहेनतलाई यसको श्रेयको रुपमा लिन्छिन् । ‘मेरो बैंकिङ्ग क्यरियरको यो दौरान जति सहज देखिन्छ, त्यति पक्कै छैन । सहायक  म्यानेजर हुँदा जुन खुसी मिलेको थियो । त्यो खुसीलाई घट्न नदिन दिनभरी काम गर्थे रातभरी पढ्थे’, उनी आफ्नो विगत सम्झिन्छिन् । 

आफ्नो क्षमता, दक्षता, लगनशीलता र आत्मविश्वासले बैंकिङ्ग क्षेत्रमा आफू स्थापित भएपनि नेपाल जस्तो पृतिसत्तात्मक देशमा महिलाले खुलेर हिड्ने वातावरण अझै सहज हुन नसकेको उनी बताउँछिन् ।पृतिसत्तात्मक समाजमा नारीलाई हेर्ने नजरको बारेमा  बताउँदै उनी भन्छिन्, ‘बैंकबाटै बेलाबखत कार्यक्रमहरु भइरहन्थे । त्यसकै शिलाशिलामा कहीँ –कतै जाँदा पुरुष सहकर्मीहरुबाट हेपिएको महसुस  नभएको होइन । यो एउटा महिला भएर के गर्ली भन्ने आवाज पनि नसुनिएका होइनन् । त्यो सबलाई सहँदै आएकी हुँ ।’ तथापि सबैतिर त्यस्तो अवस्था नरहेको र सकारात्मक सोच र  सहयोगी मानिसहरुको पनि नेपाली समाजमा कमी नरहेको उनकाे भनाइ छ ।