काठमाडौं– सम्पती शुद्धीकरण अनुसन्धान विभागले चालु आर्थिक वर्षमा तीन गुणा मुद्दा दर्ता गर्ने गतिमा काम गरिरहेको बताएको छ । बिहीवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सम्पती शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक पुष्पराज शाहीले यस्तो बताएका हुन् । उनले गत वर्ष ११ वटा मुद्दा मात्रै दर्ता भएको भन्दै चालु आर्थिक वर्षमा तीन गुणाले बढाएर ३३ देखि ४० मुद्दा दर्ता गर्नेगरी काम गरिरहेको जानकारी दिए ।
उनले सम्पती शुद्धीकरण ऐनमा सम्पती शुद्धीकरण सम्बन्धि मुद्दा तामेलिमा राख्न पाउने भएपनि आफूले मुद्दालाई तामेलिमा नराख्ने प्रतिवद्धता जनाए । मुद्दालाई तामेलिमा मुद्दा राख्न पैसा खायो भन्ने प्रश्न उठ्ने गरेको गुनासो उनको थियो । उनले सम्पती शुद्धीकरण अनुसन्धान विभागमा आएका मुद्दाहरुलाई तामेलिमा नराख्ने योजना बनाएर काम गरिरहेको बताए ।
महानिर्देशक शाहीले सम्पती शुद्धीकरण अनुसन्धान ऐनको उद्देश्य अदालतको ढोकासम्म मुद्दा नपुगेसम्म उद्देश्य पूरा नहुने गरेको बताए । उनले नेपालमा निजी क्षेत्रले प्रोजेक्ट लोन लिन,कर छल्न र उत्पादन बढाउने गरी तीन तरिकाबाट कम्पनी खोल्ने गरेको दाबी गरे । उनले जसमा ३० प्रतिशत भन्दा बढी कम्पनी उत्पादनको लागि र बाँकी सबै कर छल्नको लागि कम्पनी खडा गरेको आरोप लगाए । २० प्रतिशत कर छल्नको लागि खोलिएका धेरै कम्पनीको कारण निजी क्षेत्रले धान्न नसक्नेको दाबी उनको थियो ।
महानिर्देशक शाहीले सम्पती शुद्धीकरण अनुसन्धान विभागले ८० प्रतिशत मुद्दामा सफलता पाएको पनि उल्लेख गरे । उनले हालसम्म सम्पत्ति शुद्धीकरण ७७ मुद्दा दायर भएको र ७ वटाले मात्रै सफाइ पाएको बताए । उनले भने, ‘सम्पती शुद्धीकरण अनुसन्धान विभागमा आएका मुद्दाहरुलाई तामेलिमा नराख्ने योजना छ । ऐन अधिकार दिएको छ तामेलिमा राख भन्छ । तामेलिमा राख्यो की खायो–खायो भन्ने आउँछ । न्याया दिन बसेको हो । मुद्दा जानुपर्छ अर्को पक्ष मुद्दा मात्रै जानु हुँदैन भन्नेछ म कुनमा काम गर्ने ? यो वर्ष बढी भन्दा बढी मुद्दामा जानुपर्ने आवश्यकता छ । गत वर्ष ११ वटा हो यो वर्ष तीन गुणा स्पिड छ । कम्तिमा ३३ देखि ४० मुद्दा यो वर्ष हामी पु¥याउँछौं भनेर काम गरिरहेका छौं । अनुसन्धानकर्ताहरुलाई पनि मुद्दा तामेलिमा नराख्न भनेको छु । कानूनमा भएपनि विषेश परिस्थितिमा गर्ने भनिएको छ । सम्पती शुद्धीकरण अनुसन्धान ऐनको उदेश्य अदालतको ढोकासम्म मुद्दा पुग्दैन तबसम्म ऐनको उद्देश्य पूरा हुँदैन । नेपालमा निजी क्षेत्रले प्रोजेक्ट लोन लिन,कर छल्न,उत्पादन लगाउनको लागि उद्योग खोलिएको छ । मुलुकमा खोलिएको ३० प्रतिशत भन्दा बढी उद्योग उत्पादनको लागि खोलिएका छन् बाँकी सबै कर छल्नको लागि खोलिएको छ ।’
बैठकमा बोल्दै राजस्व अनुसन्धान विभाग महानिर्देशक नवराज ढुंगानाले चालु आर्थिक वर्ष २०८०/८१ माघ मसान्तसम्म राजश्व छलीका २५ मुद्दा दायर भएको समितिलाई जानकारी दिए । उनले २५ मुद्धामा १ अर्ब ६२ करोड रुपैयाँ बराबर बिगो दाबी सहित ४५ जनालाई प्रतिवादी बनाएर उच्च अदालतमा मुद्दा दर्ता भएको बताए । विदेशी विनियम अपचलनको ४५ मुद्दा दायर भएको भन्दै ८३ प्रतिवादीबाट ९७ करोड १८ लाख बराबर बिगो दाबी गरिएको उनले उल्लेख गरे ।
उनले बिगोलाई अदालती कानूनी प्रक्रिया पूरा भएपछि धरौटीलाई राजश्व दाखिला भएको रकम माघ मसान्तसम्म १५ करोड ८१ लाख ६१ हजार रुपैयाँ रहेको बताए । महानिर्देशक ढुङ्गानाले भिसिटिएस सवारी साधनको अनुगमनका क्रममा गरिएको जरिवानाबाट ३ बरोड ८ लाख ७० हजार संकलन भएको बताए । उनले विभागले हुन्डी कारोबार नियन्त्रण गर्न विशेष निगरानी अगाडि बढाएको बताए । उनले डिजिटल माध्यमबाट हुने व्यापारलाई करको दायरमा ल्याउन चुनौति रहेको बताउँदै क्रिप्टोकरेन्सी जस्ता डिजिटल कसरेन्सीको कारोबार बढ्दै जाँदा त्यसलाई नियन्त्रण गर्न चुनौती थपिएको जानकारी दिए।
उनले भने, ‘चालु आर्थिक वर्ष २०८०/८१ माघ मसान्तसम्म राजश्व छलीका २५ मुद्दा दायर भएको छ । त्यसको १ अर्ब ६२ करोड रुपैयाँ बराबर बिगो दाबीसहित त्यसमा ४५ जनालाई प्रतिवादी रहेको छ । जुन उच्च अदालतमा मुद्दा दर्ता भएको छ । विदेशी मुद्रा अपचलनतर्फ विदेशी विनियम अपचलनको ४५ मुद्दा दायर भएका छन् जसमा ८३ प्रतिवादीबाट ९७ करोड १८ लाख बराबर बिगो दाबी गरिएको छ । कानूनी प्रक्रिया पूरा भएपछि धरौटीलाई राजश्वमा दाखिला गर्छौं । राजश्व दाखिला भएको रकम माघ मसान्तसम्म १५ करोड ८१ लाख ६१ हजार रुपैयाँ रहेको छ । भिसिटिएस प्रयोग भए नभएको सवारी साधनको अनुगमनबाट जरिवानाबाट ३ बरोड ८ लाख ७० हजार संकलन भएको छ ।हुन्डी कारोबार नियन्त्रण गर्न विशेष निगरानी अगाडि बढाएका छौं । सँगै डिजिटल माध्यमबाट हुने व्यापारलाई कसरी करको दायरमा ल्याउने भन्ने चुनौती थपिएको छ । क्रिप्टोकरेन्सी जस्ता डिजिटल कसरेन्सीको कारोबार बढ्दै जाँदा त्यसलाई नियन्त्रण गर्न चुनौती थपिएको छ । हुन्डी भनेर हुने परम्परागत माध्यम परिवर्तन भएर डिजिटल र क्रिप्टो करेन्सीमार्फत हुन्डी कारोबार हुने गरेको छ । प्रतिवन्धित वस्तु भुक्तानी पनि डिडिटल करेन्सी, क्रिप्टोकरेन्सीबाट हुने गरेको छ ।’
उनले हुन्डी भनेर हुने परम्परागत माध्यम परिवर्तन भएर डिजिटल र क्रिप्टो करेन्सीमार्फत हुन्डी कारोबार हुने गरेको दाबी गरे । उनले प्रतिवन्धित वस्तु भुक्तानी पनि डिजिटल करेन्सी, क्रिप्टोकरेन्सीबाट हुने गरेको समितिलाई जानकारी दिए । (न्युज एजेन्सी नेपाल)



About Us
प्रतिक्रिया