काठमाडौं – एक समय बैंकिङ्ग क्षेत्रका ‘कर्पोरेट फेस’ मानिने व्यक्तित्वहरू अहिले क्यामेरा अगाडि उभिएर दर्शकसँग संवाद गरिरहेका छन्। ‘क’ वर्गको बैंकको उच्च ओहोदा छोडेर डिजिटल स्क्रिनमा उत्रिएका यस्ता बैंकरहरू अब कन्टेन्ट क्रिएटरको भूमिकामा देखिन थालेका हुन्। नेपाल बैंकर्स संघका पूर्व अध्यक्षद्वय अनिल केशरी शाह र भुवन दाहाल अहिले युट्युबमा देखिने अनुहार हुन्।
नबिल बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृतसमेत रहेका अनिल केशरी शाह लामो समयसम्म बैंकिङ्ग क्षेत्रमा करियर बनाउन चाहने युवाहरूका लागि ‘रोल मोडल’ थिए। व्यवस्थापन, नेतृत्व र वित्तीय अनुशासनबारे उनका विचार कर्पोरेट वृत्तमा निकै प्रभावशाली मानिन्थे। अवकाशपछि उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट राजनीतिक यात्रा सुरु गरे। तर, त्यो यात्रा अपेक्षाअनुसार अघि बढेन। त्यसपछि उनले आफ्नो अनुभव र दृष्टिकोणलाई नयाँ माध्यम डिजिटल प्लेटफर्ममार्फत् प्रस्तुत गर्न थाले। उनले युट्युबमा ‘ह्वाट्स विथ’ कार्यक्रममा होस्टको भूमिकामा काम गरिरहेका छन्।
अहिले यो प्रोग्राम व्यवसाय, बैंकिङ्ग र पैसाको संसार बुझ्न चाहनेहरूका लागि नयाँ प्लेटफर्म बनेको छ। फेब्रुअरी १, २०२४ मा सुरु भएको यो च्यानलले छोटो समयमै ६८ हजारभन्दा बढी सब्स्क्राइबर र ६० लाखभन्दा बढी भ्यु बटुलेको छ। हालसम्म १९ भन्दा बढी एपिसोड सार्वजनिक भइसकेका छन्। यसमा शाह विभिन्न क्षेत्रका व्यक्तित्वहरूसँग व्यवसाय, लगानी, आर्थिक व्यवहार र नेतृत्वका विषयमा संवाद गर्छन्। कार्यक्रम रिवर्क प्रालीले उत्पादन गरिरहेको छ।
पूर्वबैंकरहरू आफ्नो अनुभवलाई स्टोरीमा रूपान्तरण गर्दै दर्शकमाझ पुग्न थालेका छन्। यसले एकातिर उनीहरूको व्यक्तिगत ब्रान्डलाई भेरायटी दिइरहेको छ भने अर्कोतिर वित्तीय सचेतनालाई सर्वसाधारणसम्म सरल र रोचक ढंगले पुर्याउने माध्यम बनेको छ। बैंकिङ्ग क्षेत्रमा दशकौँ बिताएका व्यक्तिहरूले व्यवहारिक अनुभव, निर्णय क्षमताको कथा र असफलता वा सफलताको वास्तविक कथा बोकेका हुन्छन्। परम्परागत सेमिनार वा कर्पोरेट तालिमभन्दा बाहिर निस्केर आएका छन्। उनीहरूका अनुभवहरू भिडियो, पोडकास्ट वा छोटो क्लिपमा आउन थालेका छन्। जसकारण नयाँ पुस्तालाई सजिलै आकर्षित गर्न सफल भएका छन्।
सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृतबाट अवकाश पाएपछि भुवन दाहाल अहिले युट्युब च्यानल नेपालवाचमार्फत् ‘कुरा पैसाको’ कार्यक्रम सञ्चालन गर्दै छन्। नेपाल बैंकर्स एसोसिएसनका पूर्व अध्यक्षसमेत रहेका दाहालले लगानी, बैंकिङ्ग र अर्थतन्त्रका जटिल विषयलाई सरल र व्यावहारिक ढङ्गले प्रस्तुत गरिरहेका छन्। हालसम्म १०२ एपिसोड पुगिसकेको यो कार्यक्रम निरन्तरता र विषयवस्तुको गहिराइका कारण दर्शकमाझ स्थापित हुँदै गएको छ।
यो कार्यक्रम दाहाल एक्लैले होइन, निरज गिरीसँग मिलेर सञ्चालन गरिरहेका छन्। गिरी नेपाल धितोपत्र बोर्डका पूर्व कार्यकारी निर्देशक हुन्। बैंकिङ्ग र पुँजी बजार दुवै क्षेत्रको अनुभव एउटै प्लेटफर्ममा आउँदा ‘कुरा पैसाको’ अझ सशक्त बनेको देखिन्छ। सन् २०२१ जुन १६ मा सुरु भएको यो कार्यक्रमका लागि हालसम्म ५१ हजारभन्दा बढी सब्स्क्राइबर, १३ सयभन्दा बढी भिडियो र ३० लाखभन्दा बढी भ्युज बटुलिसकेको छ।
नेपाल बैंकर्स संघका पूर्व अध्यक्ष तथा सानिमा बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल वित्तीय सचेतना फैलाउने लक्ष्यसहित ‘कन्टेन क्रियसन’मा लागेको बताउँछन्। बैंकिङ्ग समाचारसँगको कुराकानीमा उनी भन्छन्, ‘हामीले बनाएको एउटा भिडियो हेरेर एक वा दुई जनाले मात्रै वित्तीय सचेतनाबारे जानकारी लिएमा, त्यो ठुलो हुन्छ।’ दाहालका अनुसार बैंकमा लामो समय काम गर्दा सर्वसाधारणमा वित्तीय सचेतनाको ठुलो अभाव छ। जसलाई परिपूर्ति गर्ने लक्ष्य नै मुख्य हो। जसकारण, ‘कुरा पैसा’कोमार्फत वित्तीय सचेतना फैलाउन लागि परेको उनले बताए।



About Us
प्रतिक्रिया