कालिकोट– विमानस्थलको उद्घाटन गर्न मन्त्रीहरु कालिकोट पुगेका छन् । कालिकोटको नरहरिनाथ गाउँपालिका १, कोटबाडास्थित बनेको सुनथराली विमानस्थल उद्घाटन गर्न उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासहित पर्यटन मन्त्री सुदन किराँती, कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा, तत्कालीन मुख्यमन्त्री द्वय जीवन बहादुर शाही र महेन्द्र बहादुर शाही र कर्णाली प्रदेशका उपसभामुख यशोदा न्यौपाने त्यहाँ पुगेका हुन् ।
निर्माण सुरु भएको ३८ वर्षपछि उद्घाटन भएको यो विमानस्थलमा दुई पटक सफल उडान परीक्षण गरिएको थियो । नरहरिनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्र बहादुर विष्ट सहितको टोलि काठमाण्डौं आएर विमानस्थल सञ्चालन गरिदिन प्रधानमन्त्री पुष्पकमल दाहालसँग आग्रह गरेको थियो । उद्घाटनमा प्रधानमन्त्रीको सन्देस पढेर सुनाउँदै नागरिक उड्डयन मन्त्री सुदन किराँतीले प्रधानमन्त्रीले हप्तामा एक दिन नेपाल वायुसेवाको विमानले उडान भर्न निर्देशन दिएको जानकारी समेत गराए ।

यस्तै नरहरीनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्र बहादुर बिष्टले बैंकिङ्ग समाचारसँग कुरा गर्दै भने ‘कालोपत्रे भएको एक बर्षपछि विमानस्थल उद्घाटन भएकोमा खुसी छौं ।’ योसँगै आगामी आर्थिक वर्षको सारसम्मको उडान भर्दा लाग्ने खर्च गाउँपालिकाले तिरेको अध्यक्ष बिष्टले बताए ।
यसका साथै केन्द्रका मन्त्री तथा मुख्यमन्त्रीले विमानस्थल नियमित सञ्चालन गर्ने कुरामा गाउँपालिकालाई सघाउने रहेको जनाएका छन् । २०४२ सालदेखि तत्कालीन जिल्ला विकास समितिको १ लाख लगानीबाट निर्माण सुरु भएको थियो । जहाज हेर्नका लागि कालिकोटका गाउँ गाउँबाट हजारौँको सङ्ख्यामा स्थानीय सुनथराली विमानस्थलमा पुगेका थिए ।



About Us
प्रतिक्रिया