बैकिङ्ग समाचार, काठमाडौं ।
चालु आर्थिक बर्षको पहिलो १० महिनामा नेपालको व्यापार घाटा २१ दशमलव ५ प्रतिशतले बढेको छ । यस अवधिमा व्यापार घाटा ११ खर्ब ४५ अर्ब ६३ करोड रुपियाँ रहेको छ ।
जबकी अघिल्लो बर्ष यही अवधिमा यस्तो घाटा १४ दशमलव प्रतिशतले घटेको थियो । व्यापार घाट बढेसँगै आयात निर्यातको अनुपात पनि बढेको छ । गएको आर्थिक बर्षको पहिलो १० महिनामा निर्यातको तुलनामा आयात आठ गुणाले बढि रहेकोमा अहिले त्यो बढेर आठ दशमलव ६ गुणा बढि भएको छ ।
समीक्षा अवधिमा कुल वस्तु आयात २२ दशमलव ३ प्रतिशत बढेर १२ खर्ब ५४ अर्ब ११ करोड पुगेको छ । अघिल्लो बर्ष सोही अवधिमा यस्तो आयात १३ प्रतिशतले घटेको थियो । सोही अवधिमा निर्यात ३२ दशमलव २ प्रतिशतले बढेर एक खर्ब आठ अर्ब पुगे पनि आयातको आकार निकै ठूलो भएकाले यसको असर व्यापार घाटामा न्यून देखिएको छ । व्यापार घाटा उच्च भए पनि विप्रेषण आप्रवाह १९ दशमलव २ प्रतिशतले बढेर आठ खर्ब नौ अर्ब पुग्दा त्यसले विदेशी मुद्राको संचिति कायम गर्न र मुलुकको अर्थतन्त्र भरथेग गर्न ठूलो सहयोग गरेको छ ।
प्रतिक्रिया