कञ्चनपुर– बजेट अभावका कारण राष्ट्रिय गौरवको महाकाली सिँचाइ आयोजनाको तेस्रो चरणको काम प्रभावित भएको छ ।
मुआब्जा वितरण र विकास खर्च बजेट सकिएपछि निर्माण रोकिने अवस्था आएको यहाँस्थित आ‘योजना कार्यालयका निर्देशक कुसाङ शेर्पाले बताए । उनले माग गरेभन्दा निकै कम बजेट प्राप्त भएकाले जमिन अधिग्रहण गर्न समस्या भएको बताए ।
विकासतर्फको रु २० करोड रकम अर्थ मन्त्रालयकै सहमतिमा मुआब्जातर्फ रकमान्तर गरेर जमिन अधिग्रहण गरेका थियौ । उनले भने २१.६ हेक्टर जमिन अधिग्रहणका गर्न रु ८७ करोड थप बजेट माग गरेका छौ । उनका अनुसार यस वर्ष विकासतर्फ रु ९९ करोड र मुआब्जाका लागि रु १२ करोड आएको थियो । बजेट नहुँदा यस वर्ष नयाँ ठेक्का लगाउन सकिएको छैन ।
आयोजनाको २८.८ किलोमिटरदेखि ४८.३ किमिसम्म मूल नहर निर्माणका लागि गत वर्ष पाँच वटा प्याकेजमा ठेक्का सम्झौता भएको थियो । तीन वर्षभित्र काम सक्ने गरी ठेक्का सम्झौता भए पनि बजेट अभाव, रूख कटानमा समस्या र जमिन अधिग्रहण हुन नसक्दा काम हुन सकेको छैन ।
निर्देशक शेर्पाका अनुसार उन्नाइस किलोमिटर नहर निर्माणका लागि शुक्लाफाँटा नगरपालिकाको फुलेलीदेखि कैलालीको गोदावरी नगरपालिकामा पर्ने मालाखेतीसम्म सात हजार दुई सय रूख कटान गर्नुपर्ने छ तर त्यसको अनुमति वन विभागले अहिलेसम्म दिएको छैन ।
डेढ दशकसम्म पनि आयोजनाको काम पूरा नहुँदा स्थानीय किसान खिन्न छन् । सिचाँइ सुविधा उपलब्ध हुने स्थानमा किसानहरुले बोरिङबाट सिँचाइ गरिरहेका छन् । स्थानीय विसन दत्त जोशीले भने आयोजना लामो समयसम्म पनि निर्माण हुन नसक्दा लागत पनि बढ्दै गएको छ ।
कञ्चनपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दिनेश मल्लले आयोजनाको मूल नहर नै जीर्ण हुँदै गएकाले सरकारले आयोजनाको काम शीघ्र सम्पन्न गर्नुपर्नेमा जोड दिए । उनले आयोजनाका समस्या समाधान गरेर सरकारले किसानका खेतमा पानी पुर्याउनुपर्ने बताए । (रासस)



About Us
प्रतिक्रिया