काठमाडौं– नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारीले देशको गलत आर्थिक नीतिको कारणले गर्दा अर्थव्यवस्था सिमित व्यक्तिहरुको हातमा गएको बताएका छन् । बिहीवार प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद भण्डारीले देशको आर्थिक नीति गलत भएको बताएका हुन् ।
उनले गलत आर्थिक नीतिका कारण देशको समग्र अर्थव्यवस्था नै केही सिमित व्यक्तिहरुको हातमा पुगेको बताए । सांसद भण्डारीले एकै व्यक्तिको हातमा बैंक, उद्योग, बीमा, अस्पाताल, विद्यालय, जलस्रोतको लाइसेन्स लगायत सबै कुराहरु रहेको भन्दै यसले अर्थतन्त्र सिमित व्यक्तिको कब्जामा पुर्याएको बताए।
उनले विकास निर्माणका कामहरु पनि लथालिङ्ग रहेको र काम नहुँदा कानूनी कारबाहीसम्म नहुने अवस्थामा रहेको उल्लेख गरे। सांसद भण्डारीले अर्थव्यवस्थाको सम्बन्धमा संवेदनशील हुनुपर्ने अवस्था आएको बताए ।
सांसद भण्डारीले तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा पारित गरिएको लिम्पियाधुरा, लिपुलेक, कालापानीको भूभाग समेटिएको चुच्चे नक्शा परराष्ट्र मन्त्रालयको दराजबाट बाहिर निस्किन नसकेको बताए । उनले नेपालभित्र नेपाली खोज्नुपर्ने र चिन्नुपर्ने अवस्था आएको टिप्पणी गरे ।
सांसद भण्डारीले किसानको नाममा अनुदान अरुले नै खाने गरेको भन्दै तिनीहरुलाई के गर्ने भनेर प्रश्न समेत गरे । उनले नेपाली कपडामात्र लगाउने नीति बनाउन सके राज्यको अर्बौ रुपैयाँ बच्ने बताए ।
प्रतिक्रिया