पनौतीको चामखरमा पर्यटकको चहलपहल

पनौतीको चामखरमा पर्यटकको चहलपहल


काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–४ को अग्लो डाँडा चामखरमा पछिल्लो समयमा पर्यटकको चहलपहल बढेको छ । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका– ३ थापागाउँका महेश थापाले दुई महिनाअघि देखि ‘भ्यू प्वाइन्ट रिसोर्ट’ सञ्चालनमा ल्याएपछि अचेल दैनिक चामखर पुग्नेको सङ्ख्यामा वृद्धि हुँदै गएको छ ।

अग्लो डाँडामा चिटिक्कको घर, त्यसैको मूलढोकाअघि फरफराइरहेको छ दज्र्यु (बौद्ध धर्मका मन्त्र लेखिएको झन्डा) । वरिपरिका मनोरम दृश्यावलोकन गर्दै आनन्द लिएर स्थानीय उत्पादनबाट तयार पारिएका परिकार खानका लागि पर्यटकको चाहनाको केन्द्र बनेको छ । दश वर्ष विदेशी भूमिमा पसिना बगाएर आफ्नै गाउँ फर्किएका उनले रिसोर्ट सञ्चालन गरेर आन्तरिक पर्यटन प्रवद्र्धनको काममा लागेका हुन् ।

स्वदेशमा आएर केही गरौँ भन्ने तयारीमा लाग्दै जाने क्रममा रिसोर्ट सञ्चालन गर्न थालेको उनले बताए । विदेश जानुअघि ट्राभल एन्ड टुरिजममा केही अनुभव बटुली सकेका उनले पछिल्लो समयमा लोप हुन लागेको रैथाने बाली संरक्षण गर्ने र आन्तरिक पर्यटनलाई टेवा पुर्याउने उद्देश्यले रिसोर्ट सञ्चालन गरेको बताए । स्थापित हुन समय धेरै लाग्ने भए पनि त्यस क्षेत्रमा योगदान दिन बामे सर्दै गरेको उनको भनाइ छ ।

विदेशमा हुँदा धेरै योजना बुनेर गाउँ फर्कने र यहाँका विभिन्न गतिविधिले फेरि सुटकेस बोकेर विमानस्थलमा छोराछोरी र श्रीमती रुवाएर पुनः जानुपर्ने बाध्यता रहेकामा अब त्यसरी जानुहुँदैन, केही गर्नुपर्छ भन्ने सन्देश दिनका लागि पनि आफूले व्यवसाय सुरु गरेको उनले सुनाए । करिब १५ लाख लगानीमा जग्गाधनी सुकराम तामाङसँग समन्वय गरेर थालनी गरेको काममा स्थानीय पाँचजनालाई रोजगार दिएका छन् । थापाले व्यवसाय सुरु गरेपछि गाउँमा नै काम गर्ने अवसर पाएकी मीना तामाङले रिसोर्ट सञ्चालनले थप उत्साह पैदा भएको बताइन् ।

‘गाउँको नजिकै काम गर्ने अवसर पाएको छु, निकै खुसी छु,’ उनले भनिन्, ‘सुरुमा भनेजस्तो सेवासुविधा नपाए पनि पछि बिस्तारै वृद्धि हुँदै जाने आशा पलाएको छ ।’ अहिले सो रिसोर्टमा उनीसँगै अन्य चारजनाले रोजगारी पाएका छन् । घरबास तरिकाको रिसोर्टमा पछिल्लो समयमा जानेहरुको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । सो ठाउँमा पुगेपछि पर्यटकीयस्थल नगरकोट, नमोबुद्ध, धुलिखेल, फुल्चोकीडाँडालगायत हिमशृङ्खला अवलोकन गर्न सकिने भएकाले सो डाँडामा व्यवसाय सुरु गरेको उनले बताइन्।

रिसोर्टमा स्थानीय किसानले उत्पादन गरेको चामल, मकै, गुन्द्रुक, साग र स्थानीय कुखुरालायत उत्पादनको स्वाद लिन सकिने गरी सेवा दिने गरिएको छ । गाउँलेले उत्पादन गरेको सबै प्रकारका खाद्यान्नवस्तु आफूले खरिद गरिदिने गरेको र त्यही अनुसारको मूल्य तिरेर खरिद गर्दा किसान पनि खुसी हुने उनले बताए । पाँचवर्षे योजना बनाएर काम गरिरहेको बताउने उनले थप संरचना निर्माण गर्ने, बगैँचा बनाउने र स्थानीय उत्पादन खरिदसँगै आफैँले पनि उत्पादन गर्ने तयारीमा रहेको योजना सुनाए।

उनी पाँच वर्षभित्रमा कम्तीमा २० जनालाई रोजगारी दिने गरी अगाडि बढेको बताउँछन् । त्यहीँ पुगेर बस्न चाहनेका लागि चारवटा कोठा रहेका छन्भने सामूहिक रुपमा बस्न चाहनेका लागि २० जनासम्मलाई आवासको व्यवस्थापन गर्न सक्ने क्षमता रहेको उनले बताए । पनौतीबाट साँगा निस्कने हाइकिङ रुट पनि भएकाले चामखरमा पुग्नेका लागि उक्त रिसोर्ट केन्द्रमा पर्ने गरेको त्यहाँ पुग्नेहरु बताउँछन् । (रासस)