काठमाडौं- चौथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन भोलि र पर्सि अर्थात फागुन ५ र ६ गते हुने भएको छ । लघुवित्त क्षेत्रमा देखिएका समस्या र चुनौतिबारे छलफल गर्दै आगामी रणनीति बनाउन सो सम्मेलन हुन लागेको हो । सो सम्मेलनमा सात सय भन्दा बढि सदस्य उपस्थित हुने छन् ।
स्वावलम्बन विकास केन्द्रको आयोजनामा हुने सम्मेलनले लघुवित्तमा रहेका विकृति हटाएर शुद्धीकरण गर्ने लक्ष्य लिएको छ । ‘हाल ५७ वटा लघुवित्त संस्थाहरुले ५०८२ शाखा मार्फत करिब ६० लाखलाई लघुवित्तमा आवद्ध गरेका छन्, यसमध्ये २८ लाख सदस्यहरुले लघुवित्त गर्ने संस्थाबाट ऋण लिएर व्यवसाय गरी रहेका छन्,’ प्रेस विज्ञप्तीमा भनिएको छ, लघुवित्त गर्ने संस्थाहरुले ४३२ अर्बभन्दा बढी कर्जा लगानी गरेका छन् ।’
बिहीबार आयोजित पत्रकार सम्मेलनमा सम्मेलनका आयोजक समितिका अध्यक्ष शंकरमान श्रेष्ठले पछिल्लो समय केही समस्या देखिएकाले त्यसलाई पहिचान गर्दै निराकरण गर्ने उद्देश्यसहित सो सम्मेलन आयोजना गरिएको बताए ।
सम्मेलनमा नियामक निकाय, नीतिगत र सरकारी निकायका प्रतिनिधि, लघुवित्त संस्थाका नेतृत्वकर्ता, सञ्चालक, लघुवित्तकर्मी, सेवाग्राही, जनप्रतिनिधीको सहभागिता रहने जनाइएको छ । प्रत्येक दुईरदुई वर्षमा लघुवित्त सदस्य सम्मेलन हुने गरेको छ । पहिलो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन २०७३ सालमा सम्पन्न भएको थियो । दोश्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन २०७५ साल र तेस्रो सम्मेलन २०७८ मा भएको थियो ।
प्रतिक्रिया