बैंकिङ्ग समाचार ।
९ प्रतिशत ब्याज दिनेगरी राष्ट्र बैंकले नागरिक बचतपत्र जारी गर्ने भएको छ। बैंकले कुल २ अर्ब रुपैयाँको नागरिक बचतपत्र निष्कासन गर्न लागेको हो। ५ वर्षे अवधिको यस्तो बचतपत्रमा लगानी गरेपछि ६–६ महिनामा ब्याज पाइन्छ।
कम्तीमा १० हजार रुपैयाँ र त्यसपछि १० हजारले भाग जाने अंकमा लगानी गर्न सकिन्छ। यस्तो बचतपत्र बैंक तथा वित्तीय संस्थामा धितो राखेर आवश्यक परेको खण्डमा ऋण पनि लिन पाइन्छ।
हाल कुनै पनि वाणिज्य बैंकहरुले साढे ८ प्रतिशतभन्दा बढी ब्याज नदिएको अवस्थामा यो बचतपत्र बढी प्रतिफलमूलक देखिएको छ। भोलि जेठ ११ गतेदेखि असार १ गतेसम्म यसमा लगानीका लागि आवेदन दिन सकिन्छ। ५ वर्षपछि अर्थात २०८३ असार ६ गते यसको लगानी अर्थात साँवा रकम फिर्ता हुनेछ।
कसरी दिने आवेदन ?
आवेदन फारम विभिन्न बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरुमा पाइन्छ। साथै राष्ट्र बैंकको वेबसाइटमा गई ‘पब्लिक डेप्ट’मा गई डाउनलोड गर्न सकिन्छ। डाउनलोड गरेको सो फारम भरेर बैंक तथा वित्तीय संस्थाका शाखा वा राष्ट्र बैंकका प्रदेश कार्यालयमा पनि बुझाउन सकिन्छ।
बचत पत्र खरिदका लागि रकम बुझाएकै मितिबाट ब्याज रकम गणना हुनेछ। स्टक वा प्रमिसरी नोटको रुपमा बचतपत्र स्वीकार हुने राष्ट्र बैंकले जनाएको छ। स्टक वा प्रमिसरी नोटमध्ये आफूले लिन चाहेको प्रमाणपत्रको किसिम आवेदन फारम भर्दा खुलाउनुपर्नेछ।
नखुलाएको अवस्थामा प्रमिसरी नोट प्रमाणपत्र उपलव्ध गराइने बैंकले जनाएको छ। लेखपढ गर्न नजान्नेलाई स्टक प्रमाणपत्र उपलव्ध गराइने बैंकले जनाएको छ। आवेदनका साथ नेपाली नागरिकताको प्रमाणपत्र, नाबालकको हकमा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपी पेश गर्नुपर्नेछ। लेखपढ गर्न नजान्ने व्यक्तिले आवेदनका साथ २ प्रति पासपोर्ट साइजको फोटो समेत पेश गर्नुपर्नेछ।
प्रतिक्रिया