काठमाडौं– नेपाल राष्ट्र बैंक बैंक तथा वित्तीय संस्थाको सहभागिता बिना पनि कर्जा लिन–दिन सकिने अनलाइन प्लेटफर्म निर्माण गर्ने तयारीमा जुटेको छ । केन्द्रीय बैंकले पहिलो चरणमा ‘पियर टु पियर (पिटुपी) ल्यान्डिङ’ र ‘क्राउड फन्डिङ’ को लागि प्रक्रिया अघि बढाउन आवश्यक अध्ययन सकि छलफल सुरु गरेको हो ।
उद्योग व्यवसायलाई आवश्यक ऋणका लागि बैंक वित्तीय संस्थाको मात्र भर पर्नुपर्ने अवस्था अब अन्त्य हुने राष्ट्र बैंकको अपेक्षा छ । केन्द्रीय बैंकले पिटुपी र क्राउड फन्डिङका लागि छुट्टै प्लेटफर्म तयार गर्ने बताएको छ ।
यस अवधारणाअन्तर्गत व्यक्ति–व्यक्ति अनलाइन प्लेटफर्ममार्फत जोडिने र उनीहरूले त्यसमार्फत ऋण दिने र लिने काम गर्छन् । यस्तो कारोबारको जोखिम कम गर्न अनलाइन प्लेटफर्म दर्ता, ऋणको सीमा, ब्याजदरको विषयमा नियमन आवश्यक पर्ने अवधारणापत्रले उल्लेख गरेको छ । यसरी हुने लेनदेन के कस्तो उद्देश्यका लागि गर्न सकिने भन्ने विषय केन्द्रीय बैंकले तोक्ने छ भने पिटुपी र क्राउड फन्डिङका मोडलसमेत तय गरी बैंक तथा वित्तीय संस्थाको सहभागिता बिना लगानी जुटाउने वैकल्पिक वित्तीय मध्यस्थता विकास गर्न खोजिएको छ ।
राष्ट्र बैंकको अध्ययन प्रतिवेदनअनुसार पिटुपी नेपालका लागि नयाँ प्लेटफर्म हो । यो प्लेटफर्म सञ्चालनका लागि प्रभावकारी नियमन तथा अनुगमन र बलियो सुपरीवेक्षण आवश्यक हुन्छ । प्लेटफर्म सञ्चालनका लागि आवश्यक कानुनी व्यवस्था गर्न केही ऐन संशोधन गर्नुपर्ने समेत अध्ययनमा उल्लेख छ । राष्ट्र बैंकले सुरुवातमा सानो आकारको कारोबारलाई अनुमति दिने र पछि पूर्ण रुपमा सञ्चालन गर्न सक्ने प्रस्ताव अध्ययनले गरेको छ ।
प्रतिक्रिया