नेपालले बिआरआईबाट लाभ लिनसक्ने प्रशस्त सम्भावना छन्ः महासचिव पोखरेल

नेपालले बिआरआईबाट लाभ लिनसक्ने प्रशस्त सम्भावना छन्ः महासचिव पोखरेल


काठमाडाैं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले बिआरआई अन्तर्गतका परियोजनाहरु छिटो भन्दा छिटो कार्यान्वयन गर्न सरकार तत्पर हुनुपर्ने बताएका छन्। आईतवार काठमाडौंमा आयोजित चिनियाँ कम्युनिष्ट पार्टी र नेपाली कम्युनिष्ट पार्टीहरुबीचको छलफलका क्रममा उनले यस्तो बताएका हुन्।

उनले बिआरआईले नेपाल र चीनलाई सडक, रेल, हवाई तथा सञ्चार प्रविधिबाट जोड्ने उद्देश्य राखेको बताउँदै ठूला पूर्वाधार विकासको जग हाल्दै गरेको नेपालका लागि हिमालय वारपार बहुपक्षिय सम्पर्क सञ्जाललाई प्राथमिकतामा राखेर अघि बढाउनुपर्ने बताए।

महासचिव पाेखरेलले भने, ‘खासगरी बिआरआईका सन्दर्भमा नेपालले गरेको सहमतिकै सन्दर्भमा परियोजना पहिचान गर्नेकुराहरुमा हामी पछाडि परेका छौँ । नेपाल सरकारले पनि यो विषयलाई प्राथमिकताका साथ अघि बढाउनुपर्दछ । नेपाल र चीनका बीचमा उच्चस्तरमा भएका भ्रमणहरुको आदानप्रदानले दुई पक्षिय सम्बन्धलाई बलियो बनाएको छ । चिनियाँ विकास परियोजना बेल्ट एण्ड रोड इन्सेटिभको अंग भइसकेको सन्दर्भमा त्यसअन्तर्गतका परियोजनाहरु छिटो भन्दा छिटो कार्यान्वयन गर्न नेपाल सरकार तत्पर हुनुपर्दछ।’ साथै उनले विकासको चरणमा रहेको नेपालले बिआरआईबाट लाभ लिनसक्ने प्रशस्त सम्भावना रहेको पनि धारणा राखे।

उनले भने,‘यसमा विलम्व नगरीकन परियोजनाहरुको छनोट, तिनको शिघ्र कार्यान्वयन गर्दै अगाडि बढ्न आवश्यक छ । बिआरआईले नेपाल र चीनलाई सडक, रेल, हवाई तथा सञ्चार प्रविधिबाट जोड्ने उद्देश्य राखेको छ। आजको प्रविधि र विकासको युगमा अति नै महत्वपूर्ण छ। ठूला पूर्वाधार विकासको जग हाल्दै गरेको नेपालका लागि यो हिमालय वारपार बहुपक्षिय सम्पर्क सञ्जाललाई प्राथमिकतामा राखेर अघि बढाउनुपर्छ। कोभिड १९ का बेलामा बन्द भएका उत्तरी सीमानाकाहरु नियमित सुचारु गर्न म महामहिम उपमन्त्रीज्युमार्फत चीन सरकारलाई आग्रह गर्न चाहन्छु।’

महासचिव पोखरेलले नेपाल र चीन बीचको भूगोललाई चुनौति नभइ अवसरका रुपमा लिएर अघि बढ्न, सबै नाकालाई आवागमन र व्यापारका लागि सहज बनाउनसके दुई पक्षिय सम्बन्धलाई फाराकिलो बनाउन आवश्यक रहेको भनाइ राखे । (न्युज एजेन्सी नेपाल)