नबिल बैंकले सुरु गर्यो ‘नबिल दक्ष प्रवासी उद्यमशील कर्जा योजना’


काठमाडौं– नबिल बैंकले नबिल दक्ष प्रवासी उद्यमशील कर्जा योजना सुरु गरेको छ। आज बिहीबार कार्यक्रम गर्दै बैंकले कर्जा योजना सुरु गरेको हो ।

यो कार्यक्रम अन्तर्गत उद्योग तथा व्यावसायिक योजनाको प्रकृतिका आधारमा अधिकतम १० करोडसम्म कर्जा उपलब्ध गराउने बैंकले जनाएको छ। बैंकका अनुसार यस्तो कर्जा न्यून ब्याजमा अधिकतम १० वर्ष अवधिसम्मका लागि उपलब्ध गराइनेछ। यो कर्जामा बैंकले आधार दरमा जम्मा १.५ प्रतिशत प्रिमियम थप गरी उपलब्ध गराउने बताएको छ।

देशले युवा जनशक्तिको अपेक्षित लाभ उठाउन नसकेको, वैदेशिक रोजगारीमा जाने क्रम निरन्तर बढेको, विदेशबाट फर्केका युवाहरूले पर्याप्त पुँजीको अभावमा आफ्नो सीपको उपयोग गरी उद्यमशीलता विकास गर्न नसकेकोजस्ता समस्या देखिएको सन्दर्भमा ‘नबिल दक्ष प्रवासी उद्यमशील कर्जा’ योजना सुरु गरिएको बैंकले जनाएको छ।

कार्यक्रममा बोल्दै नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङ्गानाले वैदेशिक रोजगारबाट फर्किएका, अध्ययन गरेर वा सीप सिकेर आएका व्यक्तिको क्षमता उपयोगमा सहयोग गर्ने उद्देश्यले यस्तो योजना ल्याइएको बताए।  विदेशमा रहेका नेपालीले रेमिट्यान्स पठाउँदा औपचारिक माध्यमबाट आउन पनि यसले मद्दत गर्ने उनको दाबी छ। उनले नविल बैंकको कर्जा योजनाले कर्जा मात्रै नभएर रोजगारी सिर्जना हुने र उत्पादकत्व बढ्न गई अर्थतन्त्रमा टेवा पुग्ने बताए । उनले दक्ष प्रवासी उद्यमशील कर्जाले कर्जा मात्रै नभएर सीपको उपयुक्त प्रयोगमा जोड दिने बताए । 

यस्तै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले सबै युवा विदेशिको अवस्थामा फर्किएका नेपालीले गरेको उद्यमले अन्य युवालाई नेपालमै रोक्न मद्दत गर्ने बताए। उनले भने, ‘विदेशिएका जनशक्तिको संख्या मात्र गणना गर्नुभन्दा कति फर्कन्छन् भन्ने कुराको पनि लेखाजोखा राख्न आवश्यक छ । नेपाल फर्किएका नेपालीलाई उद्यमशील र उत्पादनमूलक क्षेत्रमा लाग्न प्रोत्साहन गर्न र जुनसुकै उद्यम सुरु गर्न आर्थिक पाटो बलियो हुन आवश्यक भएकाले नबिल बैंकको योजना उपयोगी छ ।’

यसैगरी मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले मिडियामा बिदेसिएका नेपालीहरूको मात्र समाचार बन्ने र फर्केका नेपालीहरूको डाटामा कुरा नहुने बताउँदै नबिलले फर्केका नेपालीहरूको सीपको सम्मानमा उद्यम गर्ने वातावरण बनाउन ल्याएको यो कार्यक्रम अहिलेको आवश्यकता रहेको बताए।

बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले पनि वैदेशिक रोजगारीबाट फर्केका युवालाई सहज बनाउन बैंकले दक्ष प्रवासी उद्यमशील कर्जा योजना अभियान चलाएको बताए । उनले भने ‘बैंकले विदेशबाट फर्किएका नेपालीको सिप र बचतलाई उत्पादनशिल क्षेत्रमा प्रयोग गराउने मुख्य उद्देश्य सहित मुनाफा नलिई सु्रुवात गर्न लागेको हो ।’ कर्जा वैदेशिक रोजगारबाट फर्किएका नेपालीका साथै वैदेशिक रोजगारमा रहेका नेपालीहरुको परिवारले पनि उद्यमशिल क्षेत्रका लागि कर्जा प्राप्त गर्न सक्ने उनले जानकारी दिएका छन् ।

कार्यक्रममा नबिल बैंकको नायब प्रमुख कार्यकारी अधिकृत सुजित शाक्यले विदेशबाट फर्किदा साथमा सीप भएता पनि नेपालमा रोजगार नपाउने र आफ्नै केही गर्न खोज्दा पुँजी नपुग्ने निराशा युवाहरुमा देखिएको बताए । यही निराशालाई  मध्यनजर गर्दै नबिल  बैंकले युवाहरूले  सीप, योजनालाई सहयोग पुऱ्याउन बैंकले उक्त योजना ल्याएको जानकारी दिए ।