विश्व बैंकको ८.७ अर्ब सहयोग, एक तिहाई जनसंख्यामा कोरोना विरुद्धको खोप

विश्व बैंकको ८.७ अर्ब सहयोग, एक तिहाई जनसंख्यामा कोरोना विरुद्धको खोप


बैंकिङ्ग समाचार । 
विश्व बैंकले कोरोना विरुद्धको खोपका लागि ८ खर्ब ७० करोड रुपैयाँ सहयोग गर्ने भएको छ । बैंकको कार्यकारी निर्देशक बोर्डले नेपालको स्वास्थ्य र खोप प्रणालीलाई सुदृढ, सुरक्षित र प्रभावकारी तथा समतामुलक वितरणमा सहयोग पु¥याउन सो रकम उपलब्ध गराउने भएको हो ।

बैंकको अन्तर्राष्ट्रिय विकास संघ (आईडा) मार्फत ७.५ करोड अमेरिकी डलर ( करिब ८.७ अर्ब नेपाली रूपैंया) बराबरको वित्तिय सहयोग शुक्रबार अनुमोदन भएको हो । यस वित्तिय सहयोगद्वारा कम्तिमा एक तिहाई जनसंख्यासम्म खोप को सुविधा विस्तार गर्न सकिने अपेक्षा गरिएको छ ।

“यस महामारीले हाम्रासामु विशाल चुनौति र अनिश्चित वातावरण खडा गरेको छ,”मल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद–जर्भोसले भने,“कम्तिमा ७२ प्रतिशत जनतालाई खोप दिने सरकारको महत्वाकांक्षी योजनालाई सघाउनका लागि हामीले चालेको यस कदम नेपाल र विश्व बैंकको बलियो साझेदारीको प्रमाण हो ।”

गतवर्ष चैतमा विश्व बैंकद्वारा स्विकृत गरिएको ३ अर्ब ३० करोड रूपैंया बराबरको कोभिड–१९ आपतकालीन प्रतिकार्य र स्वास्थ्य प्रणाली तयारी मुल आयोजना तथा सरकारको समग्र कोभिड–१९ प्रतिकार्यमा विकासका अन्य साझेदारहरूको सुनिश्चित सहयोगको सन्दर्भमा टेकेर यो सहयोग आएको हो । यो सहयोग रकमको अधिकांश हिस्सा प्राथमिकतामा परेका २० प्रतिशत जनसंख्याबाहेकका अन्य समुहमा खोप विस्तार गर्नमा परिचालित हुने बैंकले जनाएको छ । बाँकी रकमले कोभिड–१९ खोपका पहलहरूलाई सघाउन र यससँग सम्बन्धित आपूर्तिहरू जस्तै निदान परीक्षणहरू, प्रयोगशाला उपकरणहरू र चिकित्सकीय सामग्रीहरू खरिद गर्न सहयोग गर्नेछ ।

विश्व बैंकको स्वास्थ्य, पोषण र जनसंख्या सम्बन्धी विश्वव्यापी अभ्यास अन्तर्गत दक्षिण एशियाका लागि अभ्यास प्रबन्धक, गेल रिचर्डसनले कोभिड–१९ को अनुमोदित खोपको पहुँच सबैभन्दा जोखिममा रहेका समुदायमा द्रुत र न्यायसंगत रूपमा विस्तार गर्दा जनसंख्याव्यापी प्रतिरक्षा सुनिश्चित हुने बताए । नेपालको लागि यो अतिरिक्त वित्तपोषण दक्षिण एसियाली राष्ट्रहरूमा कोभिड–१९ खोप सहयोगका लागि पहिलो चरणमा स्विकृत भएका तीन परियोजना मध्ये एक हो ।

शुक्रबार नै विश्व बैंकको बोर्डले अन्तर्राष्ट्रिय विकास संघ मार्फत बंगलादेशका लागी ५० करोड अमेरिकी डलर र अफगानिस्तानका लागी ६ करोड अमेरिकी डलर ५ करोड डलर र इनर्जी म्यानेजमेन्ट सहयोग कार्यक्रमको ३० लाख डलर सहयोग दिने निर्णय गरेको छ । यस वित्तिय सहयोगका अतिरिक्त विश्व बैंकले दक्षिण एसियाका देशहरूमा न्यायसंगत, निश्पक्ष र समतामुलक खोप वितरणको रणनीति डिजाइन र कार्यान्वयनका विविध पक्षहरूमा प्राविधिक सहयोग र ज्ञान साझेदारी कार्यशालाहरू पनि प्रदान गर्दैछ ।