ग्लोबल आइएमई बैंकको नाफा २ अर्ब माथि

ग्लोबल आइएमई बैंकको नाफा २ अर्ब माथि


काठमाडौं- ग्लोबल आइएमई बैंक लिमिटेडको गत आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफा घटेको छ। बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले २६.५७ प्रतिशतले नाफामा गिरावट आएको देखाएको हो ।

बैंकले चालु आर्थिक वर्षको ६ महिनासम्ममा बैंकले २ अर्ब ४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ७८ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। नाफा घटेपनि बैंकको खुद ब्याज आम्दानी र कुल संचालन आम्दानी भने बढेको छ ।

बैंकको खुद ब्याज आम्दानी ३७.९९ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ४४.५४ प्रतिशत बढेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ३९.२२ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा २५.०८ प्रतिशत घटेको छ। विवरणअनुसार बैंकको वितरणयोग्य नाफा पनि १ अर्ब २७ करोड ७९ लाख रुपैयाँ ऋणात्मक देखिएको छ।

६ महिनामा बैंकको निक्षेप संकलन पनि ६.५५ प्रतिशतले बढेर ४ खर्ब ५४ अर्ब २४ करोड ८० लाख रुपैयाँ कायम भएको छ भने निक्षेप संकलन २.९० प्रतिशत बढेर ३ खर्ब ६४ अर्ब ७४ करोड ९५ लाख रुपैयाँ पुगेको छ । यो अवधिमा बैंकको खराब कर्जा पनि बढेर ४.६८ प्रतिशत पुगेको छ ।

बैंकको हाल चुक्ता पूँजी ३६ अर्ब १२ करोड ८७ लाख रुपैयाँ रहेको छ भने बैंकले जगेडा कोषमा २० अर्ब ७३ करोड ९१ लाख रुपैयाँ राखेको छ ।