काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युगाण्डामा रहेका नेपालीहरूसँग भेट गरेका छन् । बिहीबार असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को १९औं सम्मेलनमा भाग लिन युगाण्डाको कम्पाला पुगेका दाहालले आफ्नो युगाण्डा भ्रमण पहिलो रहेको बताउँदै यहाँ रहेका नेपालीहरूसँग अन्तरक्रिया गर्न पाउँदा खुसी लागेको बताए ।
प्रधानमन्त्रीले भने, ‘युगाण्डामा मेरो पहिलो भ्रमण हो। तपाईहरूसँग भेटेर कुराकानी गर्न पाउँदा खुसी लागेको छ। यहाँ तपाईहरूले केही कुरा उठाउनुभयो। ती महत्वपूर्ण छन्। हिजोमात्रै मैले भिजिट भिसाका बारेमा केही महत्वपूर्ण निर्णय गरिएको छ। केही समयअघि आप्रवासन समस्या समाधानका निम्ति सबै राजदुतहरू बोलाएर कुरा गरिएको छ।’
‘विदेशमा रहेका नेपालीहरूको समस्या सम्बोधन नगरी देशले गति लिन सक्दैन। विदेशमा रहेका नेपालीहरूका दुखकष्ट बुझ्ने अवसर पनि पाएँ’, प्रधानमन्त्रीले भने । कार्यक्रममा परराष्ट्रमन्त्री एनपी साउदले युगाण्डामा रहेका नेपालीहरूले देशको अवैतनिक राजदुतका रूपमा काम गरिरहेको बताउँदै नेपालीहरूले गर्ने हरेक क्रियाकलापसँग देशको विम्ब जोडिने भएकाले देशको प्रतिष्ठा बढाउने गरी काम गर्न अपील गरे ।
कार्यक्रममा गैरआवासीय नेपाली संघ युगाण्डाका अध्यक्ष रमा अर्यालले आफ्नो देशको प्रधानमन्त्री लगायतका नेताहरूलाई भेट्न पाउँदा अत्यन्तै खुसीका साथै अभिभावकत्व महसुस भएको बताइन् । सो कार्यक्रममा गैरआवासीय संघ, युगाण्डाका संरक्षक रमेश कंडेलले युगाण्डामा ३५० जनाभन्दा बढी नेपाली रहेको बताउँदै विगत ३० वर्षदेखि नेपालीहरूले युगाण्डाको विकास निर्माण र व्यापार व्यवसायमा समेत राम्रो भूमिका निर्वाह गरिरहेको बताए ।
उक्त भेटघाटमा प्रधानमन्त्री प्रचण्डसँगै छोरी गंगा दाहाल, परराष्ट्रमन्त्री साउद, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. रूपक सापकोटा, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल लगायतको उपस्थिथि थियो ।





About Us
प्रतिक्रिया