वोमी र ग्रामीण स्वयंसेवक लघुवित्तको चैत्र ३ गतेदेखि एकीकृत कारोबार

वोमी र ग्रामीण स्वयंसेवक लघुवित्तको चैत्र ३ गतेदेखि एकीकृत कारोबार


बैंकिङ्ग समाचार, काठमाडौं ।
एक आपसमा मर्ज भएका वोमी लघुवित्त वित्तीय संस्था र ग्रामीण स्वयंसेवक लघुवित्त वित्तीय संस्थाले चैत्र ३ गते मंगलबारदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन् ।

नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत रहेको वोमी र सूचीकृत नरहेको ग्रामीण स्वयंसेवक लघुवित्तबीच गत भदौमा मर्जरमा जाने समझादरी भएको थियो । मर्जर सम्पन्न भएसँगै अब “वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड“ को नामबाट एकीकृत कारोबार हुनेछ ।

दुवै कम्पनीको गत पौष २८ गते सम्पन्न साधारण सभाले मर्जर सम्बन्धी प्रस्ताव पारित गरेका थिए । यस्तै, कम्पनी रजिष्ट्रार कार्यालयले पनि स्वीकृती प्रदान गरिसकेको छ ।

गत आवबाट शेयरधनीलाई ३० प्रतिशत बोनस शेयर वितरणपछि वोमी लघुवित्तको चुक्ता पूँजी ३६ करोड १२ लाख २ हजार ४०० रुपैयाँ पुगेको छ भने ग्रामीण स्वयंसेवकको चुक्ता पूँजी ४ करोड २० लाख रुपैयाँ छ ।

वोमीको केन्द्रीय कार्यालय भरतपुर, आस्था चोकमा र ग्रामीण स्वयंसेवकको केन्द्रीय कार्यालय सर्लाहीमा छ । मर्जरपश्चात बनेको वोमी लघुवित्तको रजिष्टर्ड कार्यालय प्रदेश नं. ३, काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा नं. १४, साँगामा रहने लघुवित्तले जनाएको छ।

मर्जर सम्झौता भएसँगै वोमी लघुवित्तको नेपाल स्टक एक्सचेञ्जमा शेयर कारोबार रोक्का छ । यसअघि वोमीले नागरिक लघुवित्तलाई गाभेको थियो ।