भारतीय दूतावासले २० करोड रुपैयाँ आफूखुसी खर्चिन पाउँदैन : प्रधानमन्त्री प्रचण्ड

भारतीय दूतावासले २० करोड रुपैयाँ आफूखुसी खर्चिन पाउँदैन : प्रधानमन्त्री प्रचण्ड


काठमाडौं।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालस्थित भारतीय दूतावासले २० करोड रुपैयाँसम्मको योजनामा आफूखुसी खर्च गर्न नपाउने बताएका छन् । शुक्रबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिबो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्।

राज्य व्यवस्था समिति बैठकमा सांसदहरुले बिहीबार विदेशमन्त्री एस जयशंकरको भेट र नेपालले गरेका सम्झौताबारे जिज्ञासा राखेपछि त्यसबारे प्रधानमन्त्रीले स्पष्ट पारेका हुन् । ‘भारतले जहाँ पायो त्यहीँ लगानी गर्ने या जसरी मन लाग्यो त्यसरी गर्ने भन्ने छैन। त्यसको प्रक्रिया छ। नगरपालिका, गाउँपालिका वा अन्यत्र कहाँ रकम खर्चिने हो, त्यो प्रक्रियाबाट जानैपर्छ,’ उनले भने।

बिहीबार भारतीय दूतावासले सिधै २० करोडको योजनामा खर्च गर्न पाउनेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो।

‘२० करोडसम्मको परियोजना भारत एक्लैले निर्णय गर्ने होइन। यसमा नेपालको पनि निर्णय र साझेदारी रहन्छ’ प्रधानमन्त्रीले भने, ‘मुख्य कुरा जसले उत्पादन गरेको भए पनि दश वर्षमा दश हजार मेगावाट विद्युत् भारतले किन्ने सम्झौता भएको छ। अरू कुनै भ्रम राख्न जरुरी छैन। सम्झौताको कार्यान्वयन पनि नेपालको राष्ट्रिय हितअनुरूप नै हुन्छ।’