डलरको मूल्य निरन्तर उकालो, नेपाललाई फाइदा कि बेफाइदा ?

डलरको मूल्य निरन्तर उकालो, नेपाललाई फाइदा कि बेफाइदा ?


काठमाडौं ।

अन्तराष्ट्रिय मुद्रा अमेरिकी डलरको भाउ निरन्तर बढिरहेको छ । अन्तर्राष्ट्रिय मुद्राका रूपमा संसारभर चल्ने डलको भाउ मंसिर महिनामा निकै माथि पुगको छ । गत मंसिर १५ गते अहिलेसम्मै नयाँ रेकर्ड कायम गर्दै प्रति डलर रू १३३ रूपैयाँ ७४ पैसामा बिक्री गरिएको थियो । त्यसपछि डलरको भाउ खास घटेको छैन । बुधबारका लागि एक डलरको बिक्री मूल्य १३३ रूपैयाँ ७३ पैसा कायम गरिएको छ भने १३३ रूपैयाँ १३ पैसा खरिददर कायम गरिएको छ । मंसिर महिनामा बनेको यो रेकर्ड इतिहासमै सबैभन्दा बढी हो ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार पछिल्लो पाँच वर्षमा डलरको मूल्य भने लागातार बढेको देखिन्छ । तथ्यांकअनुसार सन् २०१८ को जनवरीमा १ अमेरिकी डलर बराबर १०१.५३ रूपैयाँ रहेकोमो सन् २०२० को अप्रिलमा आइपुग्दा १२१.६९ रुपैयाँ पुगेको थियो । २०२० देखि २०२१ को बीचमा नेपाली बजारमा ११५ देखि १२२ रुपैयाँसम्म प्रति डलरको मूल्य कायम रहेको थियो । सन् २०२२ को मे महिना एक अमेरिकी डलरको नेपाली मूल्य १२५ रुपैयाँ नजिक पुगेको थियो ।

किन बढ्छ डलरको मूल्य ?

खासगरी अमेरिकी बजारमा बैंकिङ्ग ब्याजले भारतीय बजारमा डलरको स्तर निर्धारण गर्छ । र नेपाली रूपैयाँ भारतीय मुद्रासँग पेग भएकाले भारतमा डलरको भाउ बढ्बित्तिकै नेपालमा पनि बढ्छ । अहिले अमेरिकी बजारमा ब्यादर पछिल्लो दुइ दशककै उच्च छ । त्यहाँको मुद्रास्फीति निकै बढिरहेको सन्दर्भमा त्यससँग जुध्न अमेरिकी फेडरल बैंकले ब्याजदर पनि बढाइरहेको छ । अमेरिकी फेडरल बैंकले पछिल्लो पटक गत जुलाइमा निर्धारण गरेको ब्याजदर ५.२५ प्रतिशत देखि ५.५ प्रतिशतमा कायम राख्ने गरी निर्धारण गरिएको छ । यो ब्याजदर अझैं बढ्ने आँकलन गरिएको छ ।

यसरी अमेरिकी बजारमा ब्याजदर बढ्दा लगानीर्ताहरू डलरतर्फ आकर्षित हुन्छन् । यसले डलरको माग बढ्न जान्छ र भाउ पनि बढ्दै जाने हुन्छ । भाउ बढेका बेला स्वभाविकरूपमा भारतीय लगानीकर्ता पनिलडलरमा लगानी गरिरहेका छन् । फलस्वरूप भारतमा पनि डलरको भाउ बढिरहेको छ । बुधबारका लागि एक अमेरिकी डलर बराबर ८३.४० भारतीय रूपैयाँ निर्धारण गरिएको छ । यसअघि नोभेम्बर २२ मा एक अमेरिकी डलर बराबर ८३.५५ भारतीय रूपैयाँमा कोरोबार गरिएको थियो ।

भारतीय मुद्रा पेग भएको नेपाली मुद्रा पनि यति बेला निकै कमजोर बन्न पुगेको हो । नेपाली मुद्रा पूर्ण रूपमा भारतमा निर्भर भएकाले नेपालमा समस्या बढी हुने गरेको अर्थशास्त्रीहरू बताउँछन् । पूर्व गर्भनर दीपेन्द्रबहादुर क्षत्रीले अन्तर्राष्ट्रिय मुद्राका लागि नेपाली पूर्ण रूपमा भारतसँग निर्भर भएकाले भारतमा जे भयो हामीले पनि त्यहि व्यहोर्नुपर्ने बाध्यता भएको बताए । उनले भने, ‘हामी भारतसँग पूर्ण निर्भर छौं । यसले भारतको मुद्रा कमजोर भएको बेला हामी पनि कमजोर हुनैपर्ने हुन्छ । यसको फाइदा पनि छ भारतको अर्थतन्त्रमा सुधार हुँदा हाम्रो मुद्रा पनि बलियो हुन्छ ।’ अर्का अर्थशास्त्री चन्द्रमणि अधिकारी पनि अन्तर्राष्ट्रिय बजारमा बढेको उच्च महंगीका कारण डलरको भाउ बढेको बताउँछन् । ‘नेपाली पैसाको अवमूल्यन भएर डलरको भाउ बढ्ने हो । अहिले यसको प्रमुख कारण नै अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य बृद्धि हो ।’ अर्थविद् डा. अधिकारीले भने । यसैगरी ठूलो अर्थतन्त्र भएका देशहरूले अन्तर्राष्ट्रिय बजारमा जारी गरेको बण्डमा धेरै डलर खर्च भएकाले पनि डलरको अभाव भएको अर्थशास्त्रीहरू बताउँछन् ।

डलरको भाउ बढ्दा फाइदा

सन् २०१७ को अन्तिम महिनामा डलरको भाउ १०२ रूपैयाँ वरिपरी नै थियो । त्यसपछिको समयमा पनि डलरको भाउमा उतार चढाव आए पनि निरन्तर उकालो बाटोमै छ । नेपाली बजारका लागि अन्तराष्ट्रिय मुद्राको भाउ यसरी बढ्नु नेपाली मुद्राको अवमूल्यन (डिप्रिसियसन) हो भने अमेरिकी डलरको अधिमूल्यन (एप्र्रिसियसन) । यसको अर्थ नेपाली मुद्रा अमेरिकी डलरको तुलनामा निकै कमजोर हुनु हो ।

यसरी निरन्तर डलरको भाउ बढ्दा समग्र अर्थतन्त्रका लागि राम्रो मानिदैन । तर केही फाइदा भने यसले दिन्छ । अर्थविद् रामेश्वर खनाल भने डलरको भाउ भारतसँगको सम्बन्धका काराण बढे पनि त्यति ठूलो नोक्सान भने नगर्ने बताउँछन् । उनी भन्छन्, ‘डलरको मूल्य बढ्दा नेपालीहरूलाई नराम्रो हुँदैन । बरू यति धेरै भइरहेको आयात नियन्त्रण हुन्छ । भाउ पाउने हुँदा निर्यात पनि बढ्न जान्छ । यस्तै पर्यटकहरूले नेपालमा खर्च गर्ने रकमको मूल्यांकन राम्रो हुन्छ ।’

पछिल्लो वर्ष नेपाली बजारमा पर्यटकहरूको आगमन बाक्लिएको छ । पर्यटकहरूले नेपाली बजारमा गर्ने थोरै खर्चले पनि राम्रो मूल्य उठ्ने हुँदा पर्यटनकर्मीहरूका लागि फाइदाको विषय बन्न सक्छ । पर्यटनलाई विदेशी मुद्रा आर्जनको एक प्रमुख स्रोतमात्र नभई यसले प्रत्यक्ष र अप्रत्यक्ष रोजगारीमा ठूलो योगदान पु¥ाउने हुँदा समग्र अर्थतन्त्रमा फाइदा पुग्छ ।

अर्को कुरा डलरको भाउ बढ्दा विदेशमा काम गरेर नेपालमा रकम पठाउनेहरूका लागि पनि फाइदा हुन्छ । विदेशमा काम गर्ने र त्यहाँ कमाएको पैसा विदेशी मुद्रामा नेपाल पठाउने हुँदा डलरको भाउ बढ्दा नेपाल पठाउने पैसाको परिमाण बढ्न जान्छ । रेमिट्यान्सको आयमा निर्भर नेपाली र समग्र अर्थतन्त्रमा यसले केही लाभ मिल्नेछ ।

डलरको भाउ बढ्दा बेफाइदा

आयातमा निर्भर नेपालजस्तो देशमा ठूलो रकम आयातका लागि बाहिरिने हुँदा सबैभन्दा ठूलो घाटा लाग्ने गर्छ । डलरको भाउ जति बढी भयो त्यति महंगो आयात हुन्छ । त्यति नै उपभोग महंगो बन्न पुग्छ । यसले विदेशी मुद्राको सञ्चिति, शोधनान्तर स्थितिमा पनि उच्च चाप पर्न जान्छ । पूर्व गर्भनर क्षत्री भन्छन्, ‘सबैभन्दा धेरैले हामीलाई आयातले नै हान्छ । फाइदाको कुरा भन्दा समग्र अर्थतन्त्रमा गम्भीर असर पर्छ ।’ यसको अर्को प्रमुख बेफाइदा चाहिँ नेपालले विदेशी मुद्रामा लिएको ऋणको परिमाण डलरको भाउ बढेसँगै बढ्छ । विदेशी ऋणको सावाँ र ब्याज तिर्न भनी बजेटमा छुट्ट्याएको रकम अपुग हुन जान्छ ।