बीमा दाबी फछ्र्यौटमा ढिलाइ नगर्न बीमक र सर्भेयरलाई प्राधिकरणको निर्देशन

बीमा दाबी फछ्र्यौटमा ढिलाइ नगर्न बीमक र सर्भेयरलाई प्राधिकरणको निर्देशन


बैकिङ्ग समाचार, काठमाडौं।

नेपाल बीमा प्राधिकरणले बीमा दाबी फछ्र्यौटमा ढिलाइ नगर्न बीमक र सर्भेयरलाई प्राधिकरणको निर्देशन दिएको छ।

प्राधिकरणले सोमबार काठमाडौंमा आयोजना गरेको नेपाल बीमक सङ्घ र नेपाल बीमा सर्भेयर सङ्घसँगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा गरिएका सम्पत्तिको क्षतिको प्रतिवेदन तयार गर्दा कुनै पनि बहानाबाजी नगरी मर्का परेका व्यक्तिले जे दिन्छन् त्यसैलाई आधार मानेर प्रतिवेदन तयार गरी समयमा नै पेश गर्न निर्देशन दिए।

उनले भने, ‘बीमा सर्भेयरको विज्ञताका आधारमा कामको बाँडफाँड हुनुपर्छ, दुवै सङ्घले समझदारी गरेर अन्तर्राष्ट्रिय अभ्यास समेतका आधारमा सर्भेयरको फि तय गर्नुपर्छ, विश्वसनीयताका लागि सर्भेयरको व्यवस्था गरिएको विषयलाई बीमकहरूले बुझ्नुपर्छ।’

दुवै सङ्घका पदाधिकारीहरूलाई नयाँ काम गर्न, सर्भेयरका लागि तालिम आयोजना गर्न, गुणस्तरीय सेवा दिनेतर्फ ध्यान दिन र, कुन बीमा कम्पनीले कति सर्भेयरलाई कति काम दिएको छ, त्यो थाहा हुनेगरी डिजिटल फ्रेमवर्कमा जोडिन उनले सुझाव दिएका थिए। उनले भने, ‘दुवै सङ्घका पदाधिकारीहरूले नयाँ काम गर्नुपर्‍यो, सर्भेयरका लागि तालिम आयोजना गर्नुपर्‍यो, गुणस्तरीय सेवा दिनेतर्फ ध्यान दिनुपर्‍यो, कुन बीमा कम्पनीले कति सर्भेयरलाई कति काम दिएको छ, त्यो थाहा हुनेगरी डिजिटल फ्रेमवर्कमा जोडिनुपर्‍यो, बीमक र सर्भेयरको कारणले दाबी फछ्र्यौटमा ढिलाई भयो भन्ने गुनासा आउनुभएन।’

कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा सर्भेयरले छिटोभन्दा छिटो प्रतिवेदन बुझाउनुपर्ने र बीमा कम्पनीले पनि प्रतिवेदन प्राप्त हुनासाथ सर्भे फि भुक्तानी गर्नुपर्ने बताए। नेपाल बीमा प्राधिकरणका निर्देशक कमलप्रसाद रेग्मीले बीमितको हक हित सुरक्षित हुनेगरी बीमक र सर्भेयरले काम गर्नुपर्ने विचार व्यक्त गरेका थिए।

यसैगरी प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले बीमा सर्भेयरको सङ्ख्यामा भएको वृद्धिलाई चुनौतीका रूपमा नभइ अवसरका रूपमा लिनुपर्ने र बीमितलाई छिटो सेवा दिनुपर्ने आवश्यकता औंल्याएका थिए।

यस्तै नेपाल बीमक सङ्घका उपाध्यक्ष वीरेन्द्र वैदवारले बीमा सर्भेयरसँग देखिएका समस्या र समाधान उपाय तथा नेपाल बीमा सर्भेयर सङ्घका अध्यक्ष मोहनपुरूष ढकालले बीमा सर्भेयर र बीमकबीचको सम्बन्ध, सर्भेयर फि तथा नेपाल बीमा प्राधिकरणसँगको अपेक्षासम्बन्धी प्रस्तुति दिएका थिए।