शनिवारसम्म निफ्राको आईपिओमा साढे ६ अर्ब बढीको आवेदन

शनिवारसम्म निफ्राको आईपिओमा साढे ६ अर्ब बढीको आवेदन


बैकिङ्ग समाचार ।
नेपाल इन्फ्रास्ट्रकचर बैंक निफ्राले शुक्रबारदेखि सर्वसाधारणको लागि निष्काशन गरेको आइपीओमा शनिवारसम्म ६ अर्ब ७० करोडको आवेदन परेको छ । शनिवार दिउँसो ४ बजेसम्ममा कम्पनीको आईपिओमा  ५ लाख ३६ हजार १८ आवेदकले ६ करोड ७० लाख ६४ हजार ३ सय ९० कित्ताको लागि आवेदन दिएका हुन् । यस संगै बैंकको ८७.७५ प्रतिशत आईपिओ बिक्रि भएको छ ।

बैंकले  एक सय रुपैयाँ अंकित दरका ८ करोड कित्ता शेयर अर्थात ८ अर्ब बराबरको आईपिओ निष्काशन गरेको हो। जस मध्ये ०.२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता कर्मचारीहरुको लागि  र ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको छ। बाँकि रहेको ७ करोड ५८ लाख ४० हजार कित्ताको लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन् । आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम २ करोड कित्ताको लागि आवेदन दिन सकिने छ । 

इक्रा नेपालले कम्पनीको आईपिओलाई ग्रेड ४ प्लस प्रदान गरेको छ । इक्रा नेपालले १ देखि ५ प्वाइन्ट ग्रेडिङ्ग प्रदान गर्दछ । जसमा ग्रेड १ ले बलियो आधार जनाउँछ भने ग्रेड ५ ले कमजोर आधारहरु जनाउँछ । कम्पनीको आईपिओले पाएको ग्रेड ४ ले औसत भन्दा कम (Below Average Fundamental) आधारहरु जनाउँदछ । तर बैंकले भने BBB को इस्युअर रेटिङ पाएको छ । इक्रा नेपालले बैंकलाई ट्रिपल बिको इस्युअर रेटिङ प्रदान गरेको हो । यसले मध्यम जोखिम जनाउछ । 

इक्राले कम्पनीहरुलाई ८ तहमा इस्युअर रेटिङ प्रदान गर्छ । जसमा AAA सबैभन्दा उत्तम रेटिङ हो भने D सबैभन्दा कमजोर रेटिङ हो । बैंकले पाएको रेटिङ चौथो उत्तम रेटिङ हो ।  उक्त क्रेडिट रेटिङ्ग प्राप्त संस्थालाई समयमानै वित्तीय दायित्व पूरा गर्ने सन्दर्भमा मध्यम श्रेणिको सुरक्षा प्रदान गर्ने संस्थाको रुपमा लिइन्छ ।