मेगा बैंकले ल्यायो आधुनिक भर्चुअल सहायता सेवा

मेगा बैंकले ल्यायो आधुनिक भर्चुअल सहायता सेवा


बैकिङ्ग समाचार ।
मेगा बैंकले ग्राहकका लागि आधुनिक भर्चुअल (अनलाइन) सहायता शुभारम्भ गरेको छ। 

ग्राहकहरुलाई छिटो, छरितो र सहजरुपमा बैंकका प्रडक्ट/सेवाका साथै बैंकसँग सम्बन्धित जानकारी, सेवाग्राहीका जिज्ञासाको पनि सम्बोधन गर्ने उद्देश्यले बैंकले ‘मेगा इन्टेलिजेन्स भर्चुअल असिस्टेन्ट’ सेवा प्रारम्भ गरेको हो।

छोटकरीमा ‘मिभा’ नामाकरण गरिएको यो सेवा इन्टरनेटको पहुँचमा रहेका ग्राहक महानुभावहरुले २४ सै घण्टा लिन सक्नेछन्। 

कसरी लिने यो सेवा ? 

ग्राहकले मेगा बैंकको आधिकारिक वेबसाइट मेगा बैंक नेपाल डटकम वा फेसबुक म्यासेन्जरमार्फत सजिलै यो सहायता लिन सक्नेछन्। वेबसाइटको दायाँतर्फ मेगा बैंकको अफिसियल मासकट ‘कान्छा’ वा ‘कान्छी’ देखिनेछ।

त्यसमा क्लिक गरेपछि सेवाग्राहीहरुले मेगा बैंकले प्रदान गरिरहेका बिभिन्न प्रडक्ट/सेवा र जानकारी आफूले छनौट गरेको भाषा नेपाली वा अंग्रेजीमा प्राप्त गर्न सक्नेछन्। आफूलाई आवश्यक परेको बटममा क्लिक गरिसकेपछि ग्राहकहरुले तत्कालै प्रतिक्रिया सहित सेवा प्राप्त गर्न सक्नेछन्।

डबल विन्डोमा बनेको ‘मिभा’मा ग्राहकले राखेको जिज्ञासाको प्रतिक्रियाको अतिरिक्त सो जिज्ञासासँग मिल्दा अन्य जिज्ञासाहरु समेत एकसाथ उपलब्ध हुनेछन्।

ग्राहकले आफ्नो खाताको मौज्दात विवरण तथा कारोवारको विवरण थाहा पाउन सकिने विशेषता रहेको आर्टिफिसियल इन्टेलिजेन्समा आधारित यो च्याटवट सेवा डिजिटल बैंकिङका लागि अत्याधुनिक पद्दतीवाट सञ्चालन भएको बैंकले जनाएको छ। 

ग्राहकहरुलाई नवीनतम सेवा दिने उद्देश्यले यसअघि नै मेगा बैंकले भिडियो अकाउन्ट ओपनिङ, टिक बैंकिङ लगायतका सेवाहरु ल्याइसकेको छ।