दर्जन बढि कम्पनीको आईपीओ आउँदै, मैले कति कित्ता भर्ने ?

दर्जन बढि कम्पनीको आईपीओ आउँदै, मैले कति कित्ता भर्ने ?


बैकिङ्ग समाचार । 

अंकित मूल्य एक सय रूपैयाँमै पाइने आइपिओमा पछिल्लो समय सर्वसाधारणको आकर्षण बढ्दै गएको छ। लघुवित्त र इन्स्योरेन्सको आइपीओ खुल्न थालेपछि पनि डिम्याट खाता खोल्नेहरुको दिनानुदिन बढ्दै गइरहेको छ । ठूला र राम्रा कम्पनीको सेयर एक सय रूपैयाँमै पाइने भएपछि आइपिओमा सर्वसाधारणको आकर्षण बढ्दै गएको बेला एक दर्जन कम्पनीले आईपीओ जारी गर्ने तयारी गरेका हुन् । त्यसमध्ये सर्वसाधारणलाई ८ करोड कित्ता सेयर निश्कासन गर्ने गरी नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ माघ २ गतेदेखि खुल्दैछ। यसले पनि आइपीओमा थप उत्साह थपेको छ । यी हुन आईपीओ ल्याउन लागेका र पाइपलाईनमा रहेका कम्पनीहरुः

नेपाल इन्फ्रास्ट्रक्चर बैंक
बैंकले कुल चुक्ता पुँजीको ४० प्रतिशत हुनेगरी ८ अर्ब रुपैयाँ बराबरको साधारण शेयर निष्कासन गर्दैछ । यो सेयर निष्कासनका लागि बैंकले एनआईबीएल एस क्यापिटललाई बिक्री प्रबन्धक तोकेको छ । यो सेयर आवेदन गर्नेजति सबैले अर्को निष्कासन हो । पर्याप्त आवेदन गर्नेले ६० देखि ८० कित्तासम्म सेयर पाउने सम्भावना छ । 

सिटिजन लाइफ इन्स्योरेन्स 

सिटिजन लाइफ इन्स्योरेन्सले ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता साधारण सेयर निष्काशन गर्ने प्रस्ताव पारित गरिसकेको छ । 

कम्पनीले जारी पूँजी २ अर्ब ५० करोड रुपैयाँको ३० प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्ने निर्णय गरेको हो । हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ७५ करोड रहेको छ । कम्पनीले चालू आवको अन्त्यसम्म ४० स्थानमा व्यवसायिक सञ्जाल विस्तार गरि साधारणको पहुँचमा जीवन बीमा सेवा पुर्याउने जनाएको छ ।

२०७४ कार्तिक २ गतेदेखि व्यवसायिक कारोबार थालेको कम्पनीले विभिन्न ३५ कार्यालयहरु मार्फत बीमा सेवा प्रदान गर्दे आईरहेको छ । कम्पनीले यस आर्थिक बर्षको दोस्रो त्रैमाससम्म ५करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

ज्योति लाइफ इन्स्योरेन्स

कम्पनीले ६६ लाख कित्ता सेयर निश्कासन गर्न बोर्डमा आवेदन दिएको छ। सेयर बिक्री प्रबन्धकका रूपमा एनएमबी क्यापिटल छ। 

सञ्चालनमा रही नाफामा गइसकेको कम्पनी भएकाले यसको सेयर दोस्रो बजारमा मूल्यवान हुने अनुमान छ।

पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर आम्दानी १८ रूपैयाँ ७६ पैसा छ भने प्रतिशत नेटवर्थ १३३ रूपैयाँ २३ पैसा छ। सो अवधिसम्म ५४ करोड ५७ लाख रूपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ। 

महिला लघुवित्त वित्तीय संस्था

कम्पनीले ४ लाख कित्ता प्राथमिक सेयर निश्कासनका लागि बोर्डसँग अनुमति मागेको छ। सेयर बिक्री प्रबन्धकका रूपमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ छ।

दोस्रो बजारमा लघुवित्त कम्पनीहरूले राम्रो मूल्य पाउने गरेका छन्। यो कम्पनीको आइपिओ पनि आकर्षणमा देखिएको छ। 

साहस ऊर्जा

यो कम्पनीले ८६ मेगावाट क्षमताको सोलुखोला (दूधकोशी) आयोजना निर्माण गरिरहेको छ। कम्पनीले स्थानीय र सर्वसाधारणका लागि गरी एक करोड ५ लाख कित्ता सेयर निश्कासन गर्नेछ। बिक्री प्रबन्धकका रूपमा एनआइबिएल एस क्यापिटलले जिम्मा लिएको छ। 

सोलुखुम्बुको दूधकोशी गाउँपालिकामा निर्माण भइरहेको ८६ मेगावाटको आयोजना निजी क्षेत्रबाट बनिरहेको आयोजनामध्येकै ठूलो हो। सुख्खायाममा पनि अरूको तुलनामा यो आयोजनाबाट उत्पादन हुने विद्युतको दर उच्च हुने कम्पनीको दावी छ।

सिंगटी हाइड्रो

कम्पनीले उद्योग प्रभावित क्षेत्र दोलखा जिल्लाको अति प्रभावित क्षेत्र बिगु र कालिन्चोक गाउँपालिकाका बासिन्दाहरुका लागि एक सय रुपैयाँ अंकित दरमा १४ करोड ५० लाख रुपैयाँ बराबरको १४ लाख ५० हजार कित्ता आईपीओ बिक्री गर्न लागेको हो।

कम्पनीले निष्काशन गर्न लागेको आईपीओमा स्थानीयले छिटोमा माघ ४ गतेदेखि १८ गतेसम्म आवेदन दिन सक्नेछन् भने सो अवधिमा सबै शेयर बिक्री नभए ढिलोमा फागुन ३ गतेसम्म आवेदन दिन सक्नेछन् । आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल लिमिटेड रहेको छ।

मध्य भोटेकोसी जलविद्युत कम्पनी 

कम्पनीले एक करोड ५० लाख कित्ता सेयर सर्वसाधारणका लागि निश्कासन गर्न अनुमति मागेको हो। बिक्री प्रबन्धकका रूपमा ग्लोबल आइएमई क्यापिटल छ। कम्पनीले १०२ मेगावाट क्षमताको आयोजना बनाइरहेको छ।

चिलिमे हाइड्रोपावरको सेयर संरचना सबभन्दा धेरै ३८ प्रतिशत तथा नेपाल विद्युत प्राधिकरणको १० प्रतिशत सेयर संरचना कम्पनीमा छ। 

डिस मिडिया नेटवर्क

डिस मिडिया नेटवर्कले २३ लाख ८५ हजार ९२९ कित्ता सेयर निश्कासनका लागि आवेदन मागेको छ। टिभी च्यानल प्रदायक डिसहोमको यो सेयर निश्कासनका लागि बिक्री प्रबन्धकका रुपमा ग्लोबल आइएमई क्यापिटल छ।

अन्य समूहको यो कम्पनी हाल सूचीकृतमध्ये फरक प्रकृतिको कम्पनी भएकाले आकर्षणका रूपमा लिइएको छ। 

यी बाहेक अरू कम्पनी पनि सेयर निश्कासनका लागि धितोपत्र बोर्डको पाइपलाइनमा छन्। न्यादी हाइड्रोपावर कम्पनीले स्थानीय प्रभावित र सर्वसाधारणका लागि गरी कुल ४० लाख ५० हजार कित्ता आइपिओ निश्कासनको अनुमति मागेको छ।

कम्पनीले लमजुङको न्यादी खोलाबाट विद्युत उत्पादन गर्नेछ। ३० मेगावाट क्षमता रहेको कम्पनीको मुख्य स्टेकहोल्डर बुटवल पावर कम्पनी हो। तेह्रथुम पावरले स्थानीय र सर्वसाधारणका लागि १२ लाख कित्ता सेयर निश्कासनको अनुमति मागेको छ। 

हिमालयन हाइड्रोपावरले स्थानीय र सर्वसाधारणका लागि गरी कुल २२ लाख ५० हजार कित्ता सेयर निश्कासनको अनुमति मागेको छ। त्यस्तै विन्ध्यबासिनी हाइड्रोपावरले स्थानीय र सर्वसाधारणका लागि कुल २५ लाख कित्ता सेयर निश्कासन गर्न बोर्डमा आवेदन दिएको छ। मर्चेन्ट बैंक सिबिआइएल क्यापिटलले तीन लाख कित्ता सेयर निश्कासनका लागि अनुमति मागेको छ। 

मैलुङ खोला जलविद्युत कम्पनीले ७ लाख ३६ हजार २८६ कित्ता निश्कासनका लागि आवेदन दिएको छ। ग्रिनलाइफ हाइड्रोपावर कम्पनीले ३४ लाख ९६ हजार ४ सय कित्ता सेयर निश्कासन गर्न चाहेको छ। रूरू जलविद्युत आयोजनाले ८ लाख १५ हजार ४११ कित्ता सेयर निश्कासन गर्न स्वीकृति मागेको छ।