प्रधानमन्त्रीलाई लिएर दुबई जाने क्रममा ३१ जना यात्रु छुटे

प्रधानमन्त्रीलाई लिएर दुबई जाने क्रममा ३१ जना यात्रु छुटे


बैंकिङ्ग समाचार, काठमाडौं ।

प्रधानमन्त्री चढेको जहाजबाट दुबई जान नपाएका धेरै जसो वैदेशिक रोजगारीका लागि जान लागेका नेपालीहरु छन् । नेपाल एयरलाइन्सको लापरवाहीको कारणले गर्दा , प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई लिएर दुबई जाने क्रममा अरु ३१ जना यात्रुलाई काठमाडौंमै छाडेको छ । यात्रुहरु छुट्नुको कारण ‘भीभीआईपी फ्लाइट’ रहेको नेपाल एयरलाइन्सले जनाएको छ ।

प्रधानमन्त्रीलाई दुबई लैजान नेपाल एयरलाइन्सको उडान पूर्वनिर्धारित समयभन्दा दुई घण्टाअघि सारिएको थियो । साढे ११ बजे उड्ने भनेको जहाज प्रधानमन्त्रीलाई लिएर साढे ९ बजे नै उडेको थियो । तर उडान तालिका अघि सरेको जानकारी नेपाल एयरलाइन्सले नगराउँदा एयरपोर्ट पुगिसकेका यात्रुहरु फर्किन बाध्य भएका थिए । सोही जहाजका लागि टिकट काटेर पनि दुबई जान नपाएका अधिवक्ता प्रज्वल विक्रम राणाले नेपाल एयरलाइन्सले लापरवाही गरेको बताए । उडान समय अगाडि सारेको पूर्वजानकारी एयरलाइन्सले नदिएको उनको भनाइ छ ।

जलवायु परिवर्तन सम्बन्धी सम्मेलन कोप-२८ मा सहभागी हुन प्रधानमन्त्री प्रचण्डसहितको टोली गएराति साढे ९ बजे नेपाल एयरलाइन्सको फ्लाइट नम्बर ‘आरए २२९’ बाट दुबई प्रस्थान गरेका थिए । त्यही जहाजमा टिकट काटेका अरु यात्रु भने दुबई जान पाएनन् । ती यात्रुहरुलाई ज्ञानेश्वरस्थित काबेरी इन होटलमा राखिएको छ । उनले भने, ‘मैले राति साढे ११ बजे काठमाडौंबाट दुबई जानका लागि टिकट काटेको थिएँ । बुधबार बेलुकी साढे ८ बजे नै एयरपोर्ट पुगें तर फ्लाइट समय भइसकेको भन्दै भित्र छिर्न दिइएन । फ्लाइट सरेको जानकारी समेत नगराएर नेपाल एयरलाइन्सले लापरवाही गर्यो ।’

उनीहरुले समयमा आउन नसकेको पूर्वजानकारी गराउनुपर्ने भन्दै नेपाल एयरलाइन्सबाट पत्र मागेका थिए । त्यसैले यात्रुहरुको अनुरोधको आधारमा नेपाल एयरलाइन्सले भीभीआईपी फ्लाइटका कारण उडाउन नसकेको व्यहोरासहितको पत्र थमाएर होटलमा लगेर राखेको छ ।