व्यापार लगातार खुम्चिंदै गएपछि एनसेलबाट बाहिरिने आजियाटा समूहको घोषणा

व्यापार लगातार खुम्चिंदै गएपछि एनसेलबाट बाहिरिने आजियाटा समूहको घोषणा

८० प्रतिशत सेयर बिक्री अघि बढाउने


बैंकिङ्ग समाचार, काठमाडौँ ।
आजियाटा समूहले एनसेलबाट बाहिरिने घोषणा गरेको छ। व्यावसायिक चुनौती बढेको भन्दै आजियाटाले नेपालबाट बाहिरिने घोषणा गरेको हो।

आजियाटा ग्रुपका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक विवेक सुदले नेपालमा बढ्दो चुनौतीबीच संचालक समितिले नेपालबाट बाहिरिने निर्णय गरेको बताएका छन्। एनसेलबाट बाहिरिने घोषणासँगै कम्पनी बिक्रीमा राख्नेसमेत निर्णय भएको प्रतिक्रिया दिएका छन्।

आजियाटाले एनसेलमा रहेको आफ्नो सेयरहरुलाई बिक्री घोषणा गर्दै भन्यो, ‘हामीलाई लागछ हाम्रो यो कदमले आफ्ना रणनैतिक प्राथमिकताहरुलाई पुरा गर्नेछन् । हाम्रा लगानीकर्ताहरुको दीर्घकालिन फाइदामा सहयोग पुर्याउनेछन्।’

एनसेलको आम्दानी निरन्तर खुम्चिए पछि कम्पनीले यस्तो निर्णय गरेको बताइएको छ। घाटामा गए पछि आफ्नो व्यवसाय विस्तार हुन नसकेको आम्दानी खुम्चिएकाले आजियाटाले सेयर बिक्री गर्न लागेको बताइएको छ।

सन् २०२२ मा ३९ अर्ब ७२ करोड ५० लाख रुपैयाँको कारोबार गरेको एनसेलको आम्दानी घटेको छ। सन् २०२३ मा ३७ अर्ब ४४ करोड २० लाख रुपैयाँको कारोबार भएको कम्पनीले जनाएको छ। एनसेलको कारोबार निरन्तर घट्दै गएको थियो। सन् २०१७ मा ५७ अर्ब १० करोड २० लाख रुपैयाँको कारोबार भएको थियो। त्यसपछि क्रमश घट्दै गएपछि लगानीकर्ताले सेयर बेच्ने निर्णयमा पुगेको हो।

एनसेलमा मलेसियाको आजियाटा ग्रुप बर्हार्डको ८० प्रतिशत सेयर रहेको छ भने बाँकी २० प्रतिशत सेयर सुनिभेरा क्यापिटल भेन्चर प्रालिको रहेको छ।

एनसेलको व्यापार लगातार खुम्चिंदै गएपछि आजियाटा नेपाल छोड्ने अवस्थामा पुगेको हो।