ट्रेजरी बिलको ब्याजदर १.७५ प्रतिशत

ट्रेजरी बिलको ब्याजदर १.७५ प्रतिशत


बैंकिङ्ग समाचार,काठमाडौं ।

बैंक वित्तीय संस्थामा लगानी योग्य पुँजी पर्याप्त भएपछि ट्रेजरी बिलको ब्याजदर १.७५ प्रतिशतले घटेको छ । मंगलबार राष्ट्र बैंकले चालु आर्थिक वर्षको सबैभन्दा सस्तो ब्याजदरमा ट्रेजरी बिल बिक्री गर्दै आन्तरिक ऋण उठाएको हो । चालु आर्थिक वर्षमा सरकारले पहिलो पटक २ प्रतिशतभन्दा न्यून ब्याजदरमा ट्रेजरी बिल गर्दै आन्तरिक ऋण उठाएको छ ।

यस्तै, राष्ट्र बैंकले १८२ दिनको ट्रेजरी बिल औषतमा ३.८७ प्रतिशत गर्दै सरकारलाई ६ अर्ब रुपैयाँ र ३६४ दिनको ट्रेजरी बिल औषतमा ४.६२ प्रतिशत ब्याजदरमा बिक्री गर्दै सरकारलाई ७ अर्ब ५० करोड रुपैयाँ आन्तरिक ऋण उठाएको हो । गत साउन २ गते २८ दिनको ट्रेजरी बिल औषतमा ४.१६ प्रतिशत, ९१ दिनको ट्रेजरी बिल औषतमा ५.१८ प्रतिशत ब्याजदरमा बिक्री गर्दै सरकारले आन्तरिक ऋण उठाएको थियो ।

गत साउन २३ गते ३६४ दिनको ट्रेजरी बिल बिक्री गर्दा सरकारले औषतमा ६.३७ प्रतिशत सम्म ब्याज दिनु परेको थियो । यस्तै,भदौ मसान्तसम्म ६ प्रतिशतभन्दा बढी ब्याज दिँदै ३६४ दिनको ट्रेजरी बिल गर्ने गरिएकोमा पछिल्लो समय ट्रेजरी बिलको ब्याजदर गिरावट आएको हो । ब्याजदर करिडोरको सिद्धान्त अनुसार निक्षेप संकलन दरभन्दा अन्तर बैंक ब्याजदर कम भएको अवस्थाबाट बजारबाट राष्ट्र बैंकले निक्षेप संकलन गर्नु पर्छ ।

बैंक वित्तीय संस्थाले कर्जा लगानीभन्दा पनि कर्जा असुलीमा जोड दिँदा बैंकमा लगानी योग्य पुँजी पर्याप्त भएपछि ट्रेजरी बिलको ब्याजदरमा गिरावट आएको हो । बैंक वित्तीय संस्थामा लगानी योग्य पुँजी पर्याप्त हुँदै निरन्तर अन्तर बैंक ब्याज समेत घट्न थालेपछि राष्ट्र बैंकले बजारबाट निक्षेप संकलन गर्न सुरु गरेको छ । पछिल्लो समय आन्तरिक ऋणको ब्याजदर समेत घटेपछि राष्ट्र बैंकले निक्षेप संकलन गर्न लागेको छ ।

राष्ट्र बैंकले बजारबाट पैसा उठाउँदा आन्तरिक ऋणको ब्याजदर महँगो हुन सक्ने भयले राष्ट्र बैंकले ब्याजदर करिडोर सिद्धान्त विपरित गएर राष्ट्र बैंकले बजारबाट निक्षेप संकलन गरेको थिएन । मंसिर ६ गते ७ दिन अवधीका लागि १० अर्ब रुपैयाँ बजारबाट संकलन गरेको राष्ट्र बैंकले बुधबार (आज) समेत ७ दिन अवधिको लागि १० अर्ब रुपैयाँ बजारबाट संकलन गर्न लागेको छ ।