व्यवसायी देवीप्रकाश भट्टचनले प्रभु बैंकको अध्यक्ष पद छाडे, यस्तो छ रहस्य

व्यवसायी देवीप्रकाश भट्टचनले प्रभु बैंकको अध्यक्ष पद छाडे, यस्तो छ रहस्य


बैकिङ्ग समाचार।
व्यवसायी देवीप्रकाश भट्टचनले प्रभु बैंककाे अध्यक्ष छाडेका छन् । आइतबार सम्पन्न बैंकको १९ औं वार्षिक साधारणसभामा भट्टचनले सञ्चालक बन्न उम्मेदवारी दिएनन् । उम्मेदवारी नदिएपछि उनको अध्यक्ष बन्ने बाटो बन्द भएको छ । 

आइतबार सम्पन्न साधारणसभाबाट रमेशसिंह खड्का, शंकरप्रसाद कालिकोटा र रामेश्वर सापकोटालाई संस्थापक सञ्चालकमा निर्वाचित भएका छन् ।

यस्तै सर्वसाधारण सेयरधनीका तर्फबाट ऋषिराम गौतम, अन्जु अधिकारी र प्रमोद घिमिरे निर्विरोध निर्वाचित भएको बैंकले जनाएको छ । नवनिर्वाचित सञ्चालक समितिको बैठकले अध्यक्षको चयन गर्नेछ ।

नयाँ टिमलाई अवसर दिन बैंकको अध्यक्ष छाडेको भट्टचनले बताएका छन् । उनको कार्यकालमा बैंकले नयाँ उचाइ प्राप्त गरेको छ । पछिल्ला वर्ष बैंकको निक्षेप परिचालन, कर्जा लगानीका साथै सेयरधनीले पाउने प्रतिफल पनि बढ्दै गएको छ ।

बैंकको खराब कर्जा पनि घटेको छ । यसैगरी बोर्ड र व्यवस्थापनको उच्च समन्वयका कारण ठूला कर्पाेरेट हाउस पनि अहिले प्रभु बैंकप्रति आकर्षित भएका छन् ।

बैंकका अध्यक्ष भट्टचन र उनको बोर्डको टिमले प्रमुख कार्यकारी अधिकृत (सीईओ) र व्यवस्थापनलाई हस्तक्षेप नगरी काम गर्न दिएका कारण बैंकले अहिले यो उचाइ हासिल गर्न संभव भएको हो । 

प्रभु फाइनान्स हुँदै किष्ट बैंकलाई समाहित गरेपछि उनी वाणिज्य बैंकको अध्यक्ष बनेका थिए । किष्टलाई समाहित गरेको केही समयपछि प्रभुले समस्याग्रस्त ग्राण्ड बैंकलाई पनि विलय गराएको थियो ।

उनको नेतृत्वमा दुई ठूला वाणिज्य बैंकलाई प्रभुमा समाहित गराएको थियो । प्रभु समूहको अगुवाइमा प्रभु मनी ट्रान्सफर, प्रभु बैंकका अतिरित्त प्रभु इन्स्योरेन्स, प्रभु लाइफ इन्स्योरेन्स, प्रभु क्यापिटल, प्रभु पे, प्रभु हेलिकप्टर सञ्चालनमा छन् ।