चन्द्रागिरीको आईपिओ पाउन भाग्यकै भर, आवेदन भर्ने १७ गुणा बढि ? 

चन्द्रागिरीको आईपिओ पाउन भाग्यकै भर, आवेदन भर्ने १७ गुणा बढि ? 


बैकिङ्ग समाचार । 
चन्द्रागिरी हिल्स लिमिटेडले निष्काशन गरेको आईपिओमा माग भन्दा १७ गुणा बढीको आवेदन परेको छ । मंगलबार बेलुका ५ बजेसम्ममा कम्पनीको आईपिओमा १२ लाख ५१ हजार १० जना आवेदकबाट २ करोड ४४ लाख ७४ हजार ५ सय ३० कित्ताको लागि आवेदन परेको हो । यो माग भन्दा १७.५३ गुणा बढी हो । 

कम्पनीले पुष २४ गतेदेखि सर्वसाधारणको लागि साधारण सेयर आइपीओ बिक्रि खुला गरेको हो । कम्पनीले  एक सय रुपैयाँका दरले १५ करोड ३४ लाख ९१ हजार रुपैयाँ बराबरको १५ लाख ३४ हजार ९१ कित्ता आइपीओ निष्काशन गरेको हो।

यसमध्ये ४ प्रतिशत अर्थात ६१ हजार ३६४ कित्ता आइपीओ कम्पनीका कर्मचारी, ५ प्रतिशत अर्थात ७६ हजार ७०५ कित्ता शेयर सामुहिक लगानी कोषका लागि छुट्याइएको थियो भने सर्वसाधारणको लागि १३ लाख ९६ हजार २२ कित्ता आइपीओ छुट्याइएको थियो। यो आईपिओ १ लाख ३९ हजार ६ सय २२ जनाले मात्र  १० कित्ताको दरले पाउने छन्। यस हिसाबमा करिब ११ लाख बढी आवेदक हात खाली हुने देखिन्छ । यद्यपि आवेदन भेरिफाई भई नसकेको र अन्तिम डाटा आई नसकेकोले यो संख्या केहि तलमाथि हुन सक्ने छ । 

आईपिओ निष्काशनको लागि ग्लोबल आईएमइ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।  कम्पनीले मङ्सिर १७ गतेदेखि आयोजना प्रभावित स्थानीयको लागि आईपिओ बिक्रि खुला गरेको थियो। कम्पनीले आयोजना प्रभावित स्थानीयको लागि प्रति कित्ता १ सय रुपैयाँ अंकित दरका ३ लाख ६ हजार ८ सय १९ कित्ता शेयर निष्काशन गरेको हो। कम्पनीले स्थानीय र सर्बसाधारणको लागि गरि १८ करोड ४० लाख ९१ हजार बराबरको १८ लाख ४० हजार ९ सय १० कित्ता शेयर निष्काशन गर्नको लागि अनुमति पाएको थियो। सर्वसाधारणलाई पनि आईपीओ वितरण पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ५३ करोड पुग्नेछ ।

इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी आईआर डबल बी रेटिङ्ग प्रदान गरेको छ। यसले मध्यम स्तरको क्रेडिट जोखिम भन्ने बुझाउँछ।