कर बक्यौता १ खर्ब १३ अर्ब नाघ्यो

कर बक्यौता १ खर्ब १३ अर्ब नाघ्यो


बैंकिङ्ग समाचार, काठमाडौं।
आन्तरिक राजस्व विभागले गत आर्थिक वर्ष २०७९/८० सम्म १ खर्ब १३ अर्ब ७ करोड ५८ लाख बराबर कर बक्यौता उठ्न बाँकी रहेको विवरण सार्वजनिक गरेको छ ।

विभागको वार्षिक प्रतिवेदनअनुसार २ लाख ७० हजार तीन सय ८३ करदाताबाट कर बक्यौता, ब्याज, थप दस्तुर विलम्व शुल्कलगायत शीर्षकमा यो रकम उठ्न बाँकी देखिएको हो ।

अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा कुल ६५ अर्ब ३५ करोड ६७ लाख २२ हजार ७ सय रहेको कर बक्यौता रकम एक वर्षमै ४७ अर्ब ७१ करोड ९१ लाख ४० हजार थपिएको छ । त्यस्तै, विभिन्न कर कार्यालयबाट भएको कर निर्धारणउपर करदाताले चित्त नबुझाई प्रशासकीय पुनरावलोकनमा गएका करदाताको सङ्ख्या करिब साढे पाँच हजार देखिएको छ ।

गत असार मसान्तसम्म ५ हजार ४ सय ४३ करदाता मुद्दा मामिलामा गएका छन् । प्रशासकीय पुनरवलोकनमा गएको तथा अन्य न्यायिक निकायमा अपिलमा रहेको विवादित रकम १ खर्ब ४५ अर्ब ७७ करोड ८९ लाख बराबर छ । अघिल्लो आर्थिक वर्षमा यस्तो रकम १ खर्ब ३३ अर्ब ७१ करोड बराबर थियो ।

कर बक्यौता र मुद्दा मामिलामा गएर अपिलमा रहेकामध्ये आयकरसँग सम्बन्धित बढी देखिएका छन् । विभागको प्रतिवेदनअनुसार १ लाख ३६ हजार ८ सय २२ करदाताबाट रु ५९ अर्ब ४० करोड ८४ लाख ८६ हजार बराबर आयकर बक्यौता देखिएको छ ।

त्यस्तै, मूल्य अभिवृद्धि कर (भ्याट)तर्फ १ लाख २९ हजार चार सय ८५ करदाताबाट रु ५१ अर्ब १२ करोड ६० लाख भ्याट असुली हुन बाँकी रहेको छ ।

अन्तःशुल्कतर्फ १ हजार ५ सय ५ करदाताबाट १ अर्ब ६१ करोड ५६ लाख ५७ हजार बराबर राजस्व असुली हुन सकेको छैन । अन्यतर्फ २ हजार ५७१ करदाताबाट ९२ करोड ५७ लाख १० हजार बराबर कर उठेको छैन ।

प्रशासकीय पुनरवलोकनलगायत न्यायिक निरुपणमा गएका करदाताको संख्या हेर्दा आयकरतर्फ सबैभन्दा धेरै २ हजार ८ सय ८ करदाता अर्थात् १ खर्ब २७ अर्ब ६९ करोड ४५ लाख ४९ हजार बराबर कर रकम देखिन्छ ।

भ्याटतर्फ १४ अर्ब ६४ करोड ११ लाख १० हजार बराबर कर रकम रहेका दुई हजार तीन सय १८ करदाता मुद्दा मामिलामा गएका छन् । अन्तःशुल्कतर्फ १ सय ६४ करदाताको ३ अर्ब १३ करोड ७५ लाख ६८ हजार बराबर कर रकम न्यायिक अपिलका लागि गएको
छ ।

विभागका अनुसार गत आर्थिक वर्षसम्ममा आन्तरिक राजस्व विभाग र अन्तर्गतका कार्यालयमा ७६ अर्ब एक करोड ४२ लाख बराबर बेरुजु देखिएको छ । यसरी सरकारले उठाउनुपर्ने कर बक्यौता र निर्धारण भएको कर रकममाथि मुद्दा मामिलामा जाने करदाताको संख्या बढ्दै गएपछि त्यसको असर वार्षिक राजस्व असुलीमा देखिएको छ ।

आन्तरिक राजस्व विभागमार्फत गत आव २०७९/८० मा ६ खर्ब २६ अर्ब ६१ करोड कर असुली लक्ष्य राखिएकामा लक्ष्यको ७६.५७ प्रतिशत अर्थात् ४ खर्ब ७९ अर्ब ७९ करोड बराबर मात्रै उठेको थियो ।