एडीबीसँग १३ अर्ब ३३ करोड बराबरको ऋण सम्झौता

एडीबीसँग १३ अर्ब ३३ करोड बराबरको ऋण सम्झौता


बैंकिङ्ग समाचार, काठमाडौं।
एसियाली विकास बैंक (एडीबी)ले नेपाललाई १० करोड अमेरिकी डलर (१३ अर्ब ३३ करोड रुपैयाँ) बराबर सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ।

एडीबीबाट प्राप्त सहुलियतपूर्ण ऋण सार्वजनिक वित्त व्यवस्थापन र सेवा प्रवाह सुदृढीकरण कार्यक्रम कार्यान्वयनका लागि खर्चिने अर्थ मन्त्रालयले जनाएको छ।

अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थ सचिव कृष्णहरि पुष्कर र एडीबीका नेपालका लागि देशीय निर्देशक अर्नौड काओसिसबीच सम्झौतापत्रमा हस्ताक्षर भयो ।

‘सार्वजनिक वित्त व्यवस्थापन र सुदृढ सेवा प्रवाहको विषय सरकारको मुख्य प्राथमिकतामा छ । सार्वजनिक वित्तको पुनः संरचनासँगै वित्तीय संघीयता कार्यान्वयनका लागि यो कार्यक्रमबाट मद्दत पुग्नेछ’, अर्थ सचिव पुष्करले भने, ‘चालू आर्थिक वर्षको बजेटबाट पनि सरकारले सुधारका विभिन्न कार्यक्रममार्फत सार्वजनिक वित्त व्यवस्थापन र सेवा प्रवाहलाई मजबुत बनाउन खोजेको छ ।’

एडीबीका देशीय निर्देशक काओसिसले नेपालको वित्त प्रणालीलाई दिगो बनाउन र सरकारका आवधिक योजनालाई बढी प्रभावकारी बनाउन यो कार्यक्रमले सघाउने बताए । ‘सन् २०३० सम्ममा नेपाललाई मध्यम आय भएको मुलुक बनाउन तय गरिने मध्यमकालीन र दीर्घकालीन राष्ट्रिय योजनासँग यो कार्यक्रम जोडिएको छ’, उनले भने ।

नेपालले बजेटरी सहायताका लागि सहुलियतपूर्ण ऋण लिएको हो । सार्वजनिक वित्त व्यवस्थापन र सेवा प्रवाह सुदृढीकरण कार्यक्रमको पहिलो चरण कार्यान्वयन भइसकेको छ । यो ऋण रकम दोस्रो चरणअन्तर्गतका कार्यक्रम कार्यान्वयनका लागि लिइएको अर्थ मन्त्रालयले जनाएको छ ।

तीनवटै तहका सरकारको सार्वजनिक खर्च व्यवस्थापन तथा विकास बजेट प्रभावकारी कार्यान्वयनका लागि कार्यक्रमले सहयोग गर्ने बताइएको छ ।